कैलाली, फागुन २८ । सुदूरपश्चिम प्रदेशकै प्रमुख द्वारका रूपमा रहेको गोदावरी नगरपालिकाको एक मात्रै सहर अत्तरियाले अझै धुलोमैलोको सकसबाट मुक्ति पाउन सकेको छैन। दुई वर्षयता अत्तरिया चोक धुलाम्य हुनुका साथै नजिकै ढलको दुर्गन्धले ग्रसित छ।
त्यसकारण सो बजारको शोभा घट्दै गएको छ। स्थानीयले पटकपटक सडक डिभिजन कार्यालय महेन्द्रनगर र प्रदेशस्थित मन्त्रालयमै गएर प्रदूषणमुक्त बजार निर्माणका लागि पहल गर्दा कुनै सुनुवाइ हुन सकेको छैन।
अत्तरिया चोक दुर्गन्धित हुनुका साथै धुलोधुवाँले पसलका सामान बिगार्ने हुँदा ग्राहक नै आउन नमानेको र व्यापार चौपट भइसक्दा पनि सम्बन्धित निकायले लामो समयदेखिको प्रदूषण हटाउन ध्यानै नदिएको भन्दै व्यापारीहरूले मंगलबार बिहान चक्काजामै गरे।
दिनप्रतिदिन चोकको अवस्था झनै नाजुक बन्दै जान थालेपछि व्यापारी मात्र स्थानीयसमेत आक्रोशित छन्। चौकको चारैतिर खाल्डाखुल्डी पर्दा सडक अस्तव्यस्त बनेको देख्दादेख्दै सम्बन्धित निकाय कानमा तेल हालेर बसेपछि उनीहरू झकझक्याउन व्यापारीहरूले चक्काजाम गरेको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले बताए।
‘हामीले गोदावरी नगरपालिका तथा सडक डिभिजन कार्यालयलाई पटकपटक अनुरोध गर्यौं तर अहिलेसम्म बेवास्ता गरियो,’ उनले भने। चोकनजिकैका व्यपारीले झनै मार खेपिरहनुपरेको उनले बताए। ‘कोरोना महामारीपछि जनजीवन केही सामान्य भएका बेला व्यवसायीले अब व्यापार सुध्रन्छ कि भन्ने आशा राखेका बेला फेरि चोकको धुलोले निरास पारेको छ,’ अध्यक्ष देवकोटाले भने, ‘यसले गर्दा व्यापारीका सामान बिग्रनुका साथै धुलोले श्वासजन्य रोगसमेत लाग्न थालेको छ।’
चोकमा कालोपत्रे गर्नुका साथै ढल निकास हुनुपर्ने व्यापारीहरूको माग छ। साता दिनभित्र माग पूरा नभए थप सडक संघर्षका कार्यक्रम गर्ने उनीहरूले चेतावनी दिएका छन्। अत्तरिया बजारमा गरिने जथाभावी सवारी पार्किङ, फुटपाथ कब्जा, छाडा पशुचौपाया लगायतले पनि बजार कुरूप बनाउँदै लगेको आजको नागरिक दैनिकमा खवर छ ।




प्रतिक्रिया