Logo

अमेरिकामा नेपाली उबर चालकलाई दुव्यर्वहार गर्ने महिला पक्राउ



काठमाडौं, २८ फागुन । अमेरिकामा नेपाली उबर चालक सुवाकर खड्कालाई दुव्यर्वहार गर्ने एकजना महिला पक्राउ परेकी छिन् । सान फ्रान्सिस्को प्रहरीले बिहिबार साँझ घटनामा संलग्नमध्ये एक महिलालाई पक्राउ गरेको स्थानीय मिडियाले उल्लेख गरेका छन् ।

सीबीएस एसएफ टेलिभिजनले २४ वर्षीया मलेशिया किङलाई पक्राउ गरिएको उल्लेख गरेको छ । अर्की आरोपी अरना किमिआईलाई पनि पक्राउ गरिदैछ ।

दुवै महिलाहरु दुव्यर्वहार र डकैतीको अभियोगमा खोजीको सूचीमा राखिएका थिए । भिडियोमा दुव्यर्वहार र मोबाइल खोस्ने प्रयास भएको प्रष्ट देखिएको थियो ।

आइतबार साँझ ३२ वर्षीय चालक खड्काले महिलालाई मास्क लगाउन आग्रह गरेका थिए । महिलाले मास्क नभएको उत्तर दिएपछि चालकले बारम्बार अनुरोध गर्दा विवाद भएको थियो । त्यसपछि किङले खड्कामाथि दुव्यर्वहार गरेकी थिइन् ।

महिलाले चालक नजिक आएर बारम्बार खोकेकी थिइन् । दुव्यर्वहारको भिडियो भाइरल भएको छ ।

खड्काले अमेरिकी टेलिभिजनलाई अन्तर्वाता दिदै आफ्नो ज्यान लिने धम्की दिइएको बताएका छन् । उनले भनेका छन्,‘उनीहरु मेरो ज्यान मार्ने धम्की दिदै थिए, ममाथि वर्णभेदको व्यवहार गर्दै थिए ।’



प्रतिक्रिया दिनुहोस्