शशांक र गगनको एक स्वर : ‘ओलीलाई विस्थापित गरेर कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्छ’


काठमाडौं, २८ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य गगन कुमार थापाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गर्नुपर्ने बताएका छन् ।

शुक्रबार नेपाल शिक्षक संघ बागमती प्रदेश कार्यसमितिको कार्यक्रममा बोल्दै उनीहरुले एक स्वरमा प्रधानमन्त्री ओलीलाई विस्थापित गर्ने बताएका हुन् । महामन्त्री कोइरालाले भने-“अहिले हाम्रो मुख्य ध्येय भनेको ओली सरकारलाई हटाएर एउटा नयाँ सरकार गठन गर्नुपर्छ । जसको नेतृत्व नेपाली कांग्रेसले गरोस् भन्ने हाम्रो मनशाय छ ।”

उता, केन्द्रीय सदस्य थापाले पनि सम्भव हुन्छ भने यही पटक प्रधानमन्त्री ओलीलाई घर पठाउनुपर्ने धारणा राखेका छन् । उनले भने-“सम्भव हुन्छ भने यही पटक प्रधानमन्त्री ओलीलाई घर पठाउनुपर्छ । र, नेपाली कांग्रेसको नेतृत्वमा अहिले सकिन्छ भने अहिले हामीले सरकार बनाएर, हामीले ६, ८ महिना एक वर्ष चलाएर जति पनि प्रधानमन्त्री ओलीले हाम्रो संविधानमा भ्वाँग पार्नुभएको छ, ती भ्वांगहरु टाल्ने काम गरेर देशलाई निर्वाचनमा लिएर गएर त्यो निर्वाचनबाट हामीले एकपटक जनादेश प्राप्त गर्नुपर्छ । यो संसदमा सरकार चलाउन म्याण्डेट पाएको पार्टी छैन् ।”

यसका निम्ति मधेसवादी दलहरुसँग छलफल चलिरहेको पनि उनले बताए । उनले भने – ‘नेपाली कांग्रेस पर्ख र हेर अवस्थामा छ । आजपनि मधेशी पार्टीहरुसँग छलफलको क्रम चलिरहेको छ । अहिले हाम्रो मुख्य ध्येय के हो भने ओली सरकारलाई हटाएर एउटा नयाँ सरकारको गठन गर्नुपर्छ । जसको नेतृत्व नेपाली कांग्रेसले गरोस् भन्ने मनशाय हाम्रो छ ।’