Logo

ओलीले एमालेमा एकछत्र राज गर्न गरेका आफू अनुकूलका यी निर्णय



काठमाडौं, २८ फागुन । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज कठोर निर्णय लिएका छन् । पार्टीभित्र एकछत्र प्रभुत्व जमाउन उनले निर्णयहरु गर्दा आफू पक्षधर केन्द्रीय सदस्यहरुलाई मात्र डाके ।

विशेष बैठक भनी डाकेर गरिएका निर्णयहरु ओलीका अनुकूलहरु छन् । जसमा उमेरहद खारेज देखि पदाधिकारीमा अध्यक्ष आफू र महासचिव इश्वर पोखरेलसहित सबै खोसुवामा परेका छन् ।

ओलीले किन गरे यी निर्णयहरु
१. ओलीले विधानमा रहेको उमेरहद ७० वर्षको व्यवस्थालाई खारेज गरेका छन् । उनी यसै वर्ष ७० वर्ष पुगेका छन् । विधानको यो व्यवस्था खारेज नगरे उनी स्वयं पार्टी अध्यक्षबाट हट्नुुुपथ्र्यो । यसमा उनले आफू अनुकूलको निर्णय गराए ।

२.अध्यक्षमा आफै र महासचिवमा आफू निकट इश्वर पोखरेललाई कायमै राखेर निर्वाचित पदाधिकारी सबै खोसुवाको निर्णय गरे । पदाधिकारीमा ओली अल्पमतमा थिए । एमालेमा १४ पदाधिकारीमध्ये ५ जना पदाधिकारीमात्र ओली पक्षमा थिए । ७ जना माधव नेपाल पक्षधर थिए । उपाध्यक्ष निर्वाचित विद्यादेवी भण्डारी राष्ट्रपति भइसकेकाले उक्त पद खाली छ । यसअघिका उपाध्यक्ष बामदेव गौतम तटस्थ छन् । अब ओली एमालेमा प्रभुत्व जमाउन सफल भएका छन् ।

३. केन्द्रीय कमिटीका २०१ मध्ये ओली पक्षमा एक सय संख्या भन्दा केही कम संख्या थियो । माधव नेपालको पक्षमा ९० जना जति केन्द्रीय सदस्य थिए । बाँकी बामदेव गौतम पक्षधर थिए । आज पूर्व माओवादी केन्द्रबाट आएकालाई मनोनित गरी ओलीले बहुमत बनाएका छन् ।

४. प्रदेश इञ्चार्जहरुमा पनि ओलीले सबै आफ्ना विश्वासपात्रहरुलाई जिम्मेवारी दिएका छन् । माधव नेपाल पक्षधरहरु खोसुवामा परे ।

५. ओलीले पार्टी महाधिवेशनको समयावधिबारे समेत नयाँ निर्णय गराएका छन् । मंसिरमा महाधिवेशन गर्ने निर्णय गराएर केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेका छन् । यसबाट उनले महाधिवेशनबाट फेरि पार्टी नेतृत्व लिने रणनीति बनाएका छन् ।

६. प्रदेशसभामा एमाले प्रदेशसभा सांसदहरुलाई अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भए फिर्ता लिन निर्देशित गर्ने निर्णय गराएका छन् । प्र्र्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीहरुविरुद्ध अविश्वासको प्रस्ताव दर्ता छ । उनले आफू पक्षधर मुख्यमन्त्रीहरुको पद जोगाउन यस्तो निर्देशन दिने निर्णय गराएका हुन् ।



प्रतिक्रिया दिनुहोस्