Logo

बामदेव माधव समूहमा जोडिदै, ओलीविरुद्ध आक्रामक बन्ने



काठमाडौं, २९ फागुन । तटस्थ बस्दै आएका नेकपा एमालेका प्रभावशाली नेता बामदेव गौतमले कित्ता स्पष्ट पार्ने भएका छन् । उनी माधवकुमार नेपाल पक्षसँग जोडिएर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने भएका छन् ।

गौतम निकट स्रोतका अनुसार अब नेपाल र गौतमबीच मिलेर जाने सहमति भइसकेको छ । उनीहरुले एमालेभित्र विद्रोहको तयारी समेत गरेका छन् ।

नेपाल र गौतम पक्षधर केन्द्रीय सदस्यहरु एकजुट भई नयाँ पार्टी दर्ता गर्ने सम्मको तयारी भएको विश्वस्त स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीलाई सत्ताबाट हटाउन नेपाल र गौतमको भित्री सहमति समेत भइसकेको छ । त्यसका लागि नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग समिकरण बनाएर जाने या बाहिरबाटै समर्थन गर्नेसम्मको विकल्पमा छलफल बढाएका छन् ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफू र महासचिव इश्वर पोखरेललगायत पदाधिकारीको पद खोसुवा गर्नुका साथै स्थायी कमिटी समेत नराखेपछि माधव नेपाल समूह नयाँ रणनीतिका साथ बढ्न लागेको हो । अब कुनै हालतमा ओलीलाई सत्ताबाट हटाएर नयाँ रणनीतिका साथ बढ्ने नेपाल र गौतम पक्षको तयारी भएको हो ।



प्रतिक्रिया दिनुहोस्