Logo

सामूहिक बलात्कारमा परेको बताउने बालिका प्रेमी भेट्न गएको खुलासा



कञ्चनपुर, चैत १ । कञ्चनपुरमा १४ वर्षीया बालिकाले आफूमाथि सामूहिक बलात्कार गरिएको भन्दै बनावटी घटना रचेको खुलेको छ।जिल्लाको पुनर्वास नगरपालिका– २ को मोतिबस्तीमा शुक्रबार साँझ करिब साढे ७ बजेतिर आफूलाई अपहरण गरेर ३ जना अपरिचित युवाले सामूहिक बलात्कार गरेको बालिकाको दाबी झूटो रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले अनुसन्धानका क्रममा कक्षा ७ मा अध्ययनरत ती बालिकाले बनावटी घटना रचेको खुलाएका छन् । थापाकाअनुसार घरबाट कलम किन्छु भन्दै हिँडेकी उनले प्रेमी समेत रहेका आफूसँगै अध्ययन गर्ने अन्दाजी १६ वर्षीया किशोरलाई भेट्न गएको अनुसन्धानले खुलाएको छ ।

तर धेरै ढिलो भएपछि घरपरिवार रिसाउने हुन भन्ने भयले सामूहिक बलात्कारमा परेको भन्दै आफू झुटो बोलेको उनले प्रहरीलाई बताएकी छन्।बालिकाले दिएको बयानका आधारमा उनका प्रेमीलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

यसअघि शुक्रबार साँझ करिब साढे ७ बजेतिर बालिकामाथि पहिचान नखुलेका ३ जना युवाको समूहले बलात्कार गरेको प्रहरीले बताएको थियो।



प्रतिक्रिया दिनुहोस्