Logo

शक्ति सञ्चय गर्दै विप्लव, अब के गर्लान् ?



काठमाडौं, १ चैत्र । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव शक्ति सञ्चयमा लागेका छन् । सरकारसँग शान्ति सम्झौतालगत्तै उनी संगठन निर्माण र राजनीतिक भेटघाटलाई तिव्रता दिन थालेका छन् ।

विप्लवले शान्ति सम्झौता अगावै तीनवटा कम्युनिस्ट घटकसँग कार्यगत एकता गरेका थिए । ती कम्युनिस्ट घटक मोहन वैद्य किरण, ऋषि कट्टेल र आहुतीको नेतृत्वमा थिए । विप्लवले वैज्ञानिक समाजवादी व्यवस्थाको एजेन्डालाई अगाडि सारेर अन्य कम्युनिस्ट घटकसँग कार्यगत एकता र सहकार्य गर्न थालेका छन् ।

विप्लवले २९ फागुनमा कर्णजीत बुढाथोकी सुशिल नेतृत्वको नेकपा माओवादी केन्द्रसँग सहकार्यको तीन बुँदे सम्झौता गरेका छन् । सम्झौता अनुसार वैज्ञानिक समाजवादी व्यवस्था निर्माणार्थ सत्ताकाविरुद्ध संयुक्त सहकार्यको प्रस्ताव रहेको छ ।

भूमिगत जीवनबाट सार्वजनिक भएलगत्तै विप्लवले वैज्ञानिक समाजवादका लागि जनमतसंग्रहको प्रस्ताव अगाडि सारेका छन् । उनले अब जनताले व्यक्तिका लागि नभई व्यवस्थाको लागि मतदान गर्न पाउनुपर्नेमा जोड दिए ।

विप्लवले सेना र प्रहरीको खुलेर प्रशंशा गरे । उनले प्रधानसेनापति पूर्णचन्द्र थापालाई चिफ साब भने । सेना र प्रहरीसँग आफूहरुको संघर्ष नभएर व्यवस्थाविरुद्धको संघर्ष भएको बताए ।

विप्लवले नयाँ राजनीतिक प्रस्ताव अगाडि सार्दै गर्दा शक्ति सञ्चय पनि गरिरहेका छन् । उनी अहिले तानातानको अवस्थामा पनि छ । प्रधानमन्त्री केपी शर्मा ओली विप्लवको साथ लिएर बढ्न खोजिरहेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललगायत नेताहरु पनि विप्लवसँग कार्यगत एकता गरेर बढ्न खोजिरहेका छन् । तर, विप्लवले कस्लाई साथ दिएर र कस्को साथ लिएर बढ्ने हुन् चासोको विषय बनेको छ ।



प्रतिक्रिया दिनुहोस्