Logo

सूचना प्रविधिको दुरुपयोग रोकिनुपर्छ : विज्ञ



काठमाडौँ, २ चैत: सूचना प्रविधिको पहुँच व्यापक भए पनि प्रविधिको दुरुपयोग बढेको भन्दै यसको प्रभावकारी नियमन गरिनुपर्ने आवश्यकता यस क्षेत्रका विज्ञले औँल्याएका छन् । आधुनिक युगमा प्रविधिको उच्चतम विकास र विस्तारले शहरदेखि दूरदराजमा प्रविधिको पहुँच बढेकाले प्रविधिको सहीरूपमा सदुपयोग भएको छ की छैन भनेर प्रभावकारी अनुगमन र नियमन हुनुपर्ने उनीहरुको जोड छ ।

कम्प्युटर एशोसिएशन अफ नेपाल महासङ्घ (क्यान महासङ्घले) आइतबार आयोजना गरेको ‘मिडियामा सूचना प्रविधिको प्रयोग’ विषयक अन्तक्र्रियामा वरिष्ठ पत्रकार प्रतीक प्रधानले सूचना प्रविधिको पहुँच र प्रयोग बढ्दो रहनु सकारात्मक भए पनि यसबाट सिर्जना भएका कतिपय नकारात्मक गतिविधिलाई नियन्त्रण गरी प्रविधिको सही सदुपयोगका लागि ध्यान दिन जरुरी भएको बताए ।

“सूचना प्रविधिको पहुँच र प्रयोग तीव्ररूपमा बढेको छ । समाचार पत्र र सञ्चारगृह आफैँमा द्विविधामा छन् कुन विषयवस्तु कसरी दिने भनेर । सूचना सम्प्रेषणमा प्रविधिले राम्रो कुरा ल्याएको छ, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता स्थापित गर्न पनि धेरैहदसम्म भूमिका खेलेको छ, प्रविधिसँगै आएका खराब पक्षलाई मिडिया, पाठक र समाजले पनि प्राथमिकता निर्धारण गर्न अपरिहार्य छ”, उनले भने । पत्रकार प्रधानले पत्रकारले सूचना, मनोरञ्जन र अत्याचारलाई छुट्टयाएर पत्रकारितालाई जिम्मेवार बनाउन जरुरी भएको उल्लेख गरे।

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सूचना प्रविधिको नियमन गर्ने फरकफरक निकाय भएकाले इन्टरनेट नियमन गर्न समस्या आएको बताए । उनले मिडियामा समावेश हुने विषयवस्तुलाई पनि जवाफदेही र जिम्मेवारी बनाउन अधिकार पाएको खण्डमा नियमन गर्न प्राधिकरण तयार रहेको बताए ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले इन्टरनेट नियमन गर्ने कि इन्टरनेटभित्रका विषयवस्तु प्रशोधन गर्ने भन्ने द्विविधा बढेको भन्दै सूचना प्रविधि क्षेत्रलाई सहज ढङ्गले अघि बढाइनुपर्नेमा जोड दिए । उनले कनेक्टिभिटी सहज हुँदाहुँदै पनि दुरुपयोग बढेको र यसबाट अपराध, आत्महत्याजस्ता गतिविधि बढेको बताए । उनले भने, “हामीले जसरी कनेक्टिभिटीलाई लैजाँदैछौँ यसको कन्टेन्ट पनि निर्धारण र प्राथमिकीकरण गर्न जरुरी छ । देशका कुना गाउँसम्म प्रविधिको पहुँच पुगे पनि यसको सदुपयोग भएको छ कि छैन भनेर प्रभावकारी अनुगमन गर्न जरुरी छ ।”रासस/File Photo



प्रतिक्रिया दिनुहोस्