Logo

राजनीतिमा अर्को ट्वीस्टः एमाले र माओवादी केन्द्र फेरि एक हुने सम्भावना



काठमाडौं, २ चैत्र । नेपालको राजनीतिमा फेरि अर्को ट्वीस्ट भएको छ । औपचारिक रुपमा विभाजित भएको ८ दिनमै नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक हुने सम्भावना भएको छ ।

एमाले र माओवादी केन्द्रबीच एकता गर्न विभिन्न विकल्पमा छलफल बढेको छ । त्यसका लागि एकता अभियानका संयोजक बामदेव गौतम सक्रिय हुँदै आएका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीच सहमति बनाउन प्रयास गर्दै आएका थिए ।

हिजो साँझ गौतमले माधवकुमार नेपाल र झलनाथ खनालसँग गोप्य छलफल गरेका थिए । उक्त छलफलमा वार कि पार गर्नेबारे कुरा भएको थियो । गौतमलाई संयोजक बनाउन अगाडि बढाउन नेपाल र खनाल पनि सहमत भएका थिए । सकेसम्म पार्टी एकता गर्न ओलीसँग कुरा गर्ने नभए छुट्टै तरिकाले बढ्ने सहमति बनेको थियो । त्यसको परिणाम आज ओली र नेपालबीच भेटवार्ता भएको हो ।

सर्वोच्च अदालतले २३ फागुनमा नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने गरी फैसला सुनाएको थियो । त्यसपछि निर्वाचन आयोगले पार्टी छुट्टै बनाउने या एकताका लागि आउने भन्नेबारे जानकारी गराएको थियो । आयोगले १५ दिनभित्र एमाले र माओवादी केन्द्रलाई निर्णय लिएर आउन समय दिएको छ । त्यो समय अझै १० दिन बाँकी छ । अबको दश दिनभित्र एमाले र माओवादी केन्द्र एक हुने या अलग हुने टुंगो लाग्नेछ ।

बामदेव गौतमको पहलमा राजनीतिक ट्वीस्ट हुन लाग्दा ओली र नेपालबीच सहमतिको प्रयास चलेको हो । सहमति बनेमा प्रचण्डसँग पनि पार्टी एकता अगाडि बढ्ने सम्भावना छ ।

 



प्रतिक्रिया दिनुहोस्