Logo

ओली, प्रचण्ड र नेपाल मिलाउन जुटे बामदेव, धमाधम गोप्य वार्तामा



काठमाडौं, २ चैत्र । नेकपा एमालेको दुई समूहलाई मिलाउन बामदेव गौतम लगभग सफलता नजिक पुगेका छन् । उनको पहलले आज धुम्बाराहीमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । यो एमालेभित्रको विवादमा आइसब्रेक हो ।

गौतमले वार कि पार गरौं भनेर नेताहरुसँग छलफल चलाएर भेटवार्ताको अवस्था बनाएका हुन् । उनले आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । यो छलफल पनि एमाले र माओवादी केन्द्रबीचको एकताको एजेन्डामा केन्द्रित रह्यो ।

नेकपा एकता अभियान चलाएर सक्रिय रहेका गौतमले देशको राजनीतिलाई ट्वीस्ट हुने गरी नयाँ परिस्थिति सृजना गर्न खोजिरहेका छन् । त्यसमा उनी सफल हुने हुन् या होइनन् ? चासोको विषय बनेको छ ।

गौतमले ओली र नेपाललाई पहिले एक बनाउन खोजेका छन् । त्यसका लागि विभिन्न विकल्पमा छलफल चलाएका छन् । जसमा ओलीलाई केही महिना सरकारको नेतृत्वमा कायमै राखेर पार्टीलाई पुरानै अवस्थामा ल्याउने विषय राखिएको बुझिएको छ । अर्को विकल्पमा ओलीको साटो अर्को प्रधानमन्त्री एकीकरणपछिको कम्युनिस्ट पार्टीबाट बनाएर महाधिवेशनमा जाने विषय छ ।

यसैगरी, प्रचण्डले भने कुनै हालतमा ओलीको बर्हिगमनलाई सर्त बनाएका छन् । उनले ओलीसँग मिल्ने बाटो बन्द भइसकेको जवाफ दिएका छन् । तर, एमालेसँग मिल्न ओलीको सत्ता बर्हिगमन पहिलो सर्त हुनुपर्ने विषय राखेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्