माओवादी केन्द्र परित्याग गरेका यीनको सांसद पद स्वतः खारेज हुनसक्ने


काठमाडौं, २ चैत्र । नेकपा माओवादी केन्द्रले पार्टी परित्याग गरेका सांसद र केन्द्रीय सदस्यहरुलाई २४ घन्टे अल्टिमेटम दिएर स्पष्टिकरण मागेको अवधि नाघेपनि कुनै कारबाही बढाएको छैन । माओवादी केन्द्रले स्पष्टिकरण मागेकामध्ये ६ जना मन्त्री छन् । जसमा पाँच जना सांसद हुन् ।

दल परित्याग गरेको अवस्थामा सांसद पद नै खारेज हुनसक्छ । तर, माओवादी केन्द्रले त्यस्तो कदम चालेको छैन । उसले अविश्वासको प्रस्ताव पेश गर्दाको अवस्थामा मात्र कठोर निर्णय लिने गरी पर्खिरहेको बुझिएको छ ।

माओवादी केन्द्र परित्याग गरेकामा गृहमन्त्री रामबहादुर थापा बादल राष्ट्रिय सभाका सांसद हुन् । अर्का नेता चन्द्रबहादुर खड्का पनि राष्ट्रिय सभाका सांसद हुन् ।

ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह र श्रममन्त्री गौरीशंकर चौधरी प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनीहरुले माओवादी केन्द्र परित्याग गरेका छन् । पार्टी परित्याग गरेकाले उनीहरुको पद धरापमा परेको छ । राजनीतिक दलसम्बन्धी नियमावली अनुसार उनीहरुले दल त्याग गरेकाले स्वतः पद रिक्त हुनसक्छ ।

मन्त्रीहरु मणिचन्द्र थापा र दावा तामाङ सांसद छैनन् । उनीहरु ढुक्क छन् ।

माओवादी केन्द्रबाट प्रदेश सभा सांसद भएका टंक आङवोहाङ, बाराका ज्वाला कुमारी साह, रुपन्देहीका दधिराम न्यौपाने, गुल्मीका दिनेश पन्थी, सुर्खेतका ठम्मर बिष्ट, दैलेखका धर्मराज रेग्मी, अछापका झपट बोहरा पनि एमालेमा गएका छन् । उनीहरुको सांसद पद पनि जानसक्छ ।

यसैगरी, माओवादी केन्द्रबाट निर्वाचित स्थानीय निकायका जनप्रतिनिधिले पनि दल त्याग गरेमा स्वतः पद जानसक्छ । त्यसबारे माओवादी केन्द्रले निर्वाचन आयोगलाई औपचारिक पत्र लेख्नुपर्छ ।

नेकपा एमालेमा पनि पार्टीको ह्वीप नमाने या कसैले दल त्याग गरेमा पद जानसक्छ । तर, एमालेमा कसैले दल त्याग गरेको अवस्था छैन । माधवकुमार नेपाल समूहबाट त्यस्तो सम्भावना टरेको छैन ।