Logo

‘समृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण’



काठमाडौं, चैत ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक विकाससँगै समृद्धिका लागि सार्वजनिक निजी सहकार्य र सामुदायिक क्षेत्रको सहभागितामा आर्थिक गतिविधि अगाडि बढाए आर्थिक विकासले तीव्रता पाउने बताएकी छन् ।

नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिकोत्सव विशेष समारोह सोमबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले देशको विकास र समृद्धिका लागि सरकारले अगाडि सारेको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय सङ्कल्प साकार पार्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनुपर्ने स्पष्ट पारिन ।

निजी क्षेत्रका प्रतिनिधिमू्लक संस्थाले मुलुकको आर्थिक अवस्था सुधार तथा व्यवसाय विस्तारमा महत्त्वपूर्ण योगदान गर्ने भन्दै राष्ट्रपतिले चेम्बरको प्रशंसा गरिन । उनले आर्थिक विकासबाट समृद्धि हासिल गर्न व्यावसायिक क्षेत्रको योगदान अपरिहार्य हुने औँल्याएकी छन् ।

राष्ट्रपति भण्डारीले नेपाली मूल्य र मान्यता आत्मसात् गर्दै उद्योग तथा वाणिज्य क्षेत्रको विकासमा गरेको योगदानबाट देशको आर्थिक विकास एवं व्यापार व्यवसाय विस्तार गर्न महत्त्वपूर्ण आधार निर्माण हुने स्पष्ट पारिन। सांस्कृतिक पर्यटनका लागि आवश्यक वस्तुहरूको उत्पादनमा जोड दिन पनि उद्योगी व्यवसायीलाई उनको आग्रह रहेको छ ।

कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि सरकारले बजेट निर्माण प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै निजी क्षेत्रका समस्याबारे परामर्श गरिने बताए। सरकार निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्न र त्यस क्षेत्रका समस्या समाधान गर्न सधैँ तत्पर रहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्