काठमाडौं, चैत ३ । सरकारी अधिकारीले भारतको सेरम इन्स्टिच्युटसँग खरिद गरेको खोपको दोस्रो खेप सोमबारसम्म आउने बताए पनि खोप निर्माता कम्पनीले खोप नेपाल पठाएन।
कम्पनीले अब कहिले आपूर्ति गर्छ भन्ने कुनै सुनिश्चतता नभएको देखिएको छ। सरकारले सेरमसँग खोप खरिद गरेको २० लाख मध्ये १० लाख खोप डोज उक्त कम्पनीले उपलब्ध गराएको थियो भने दोस्रो खोप मार्च १५ सम्म नेपाल आउन सक्ने सरकारी अधिकारीले आशा व्यक्त गरेका थिए।
भनेको समयमा खोप आइनपुगेपछि नेपालमा कोरोनाविरुद्ध सञ्चालित खोप कार्यक्रम अन्योलमा परेको छ। मंगलबारसम्ममा कोभिड १९ विरुद्धको खोपको पहिलो डोज खोप १६ लाखभन्दा बढीले लिइसक्नेछन्।
कम जनसंख्या भएका हिमाली तथा पहाडी १२ जिल्लामा ५५ वर्षमाथिका नागरिकलाई समेत लगाएमा १८ लाख डोज खोप खपत हुनेछ। यस हिसाबले ५ लाख खोपमात्र मौज्दात रहनेछ। यसबाट पहिलो डोज खोप लिइसकेका १३ लाखजनालाई दोस्रो डोज नपुग्ने स्थिति देखिएको छ।
भारतीय उच्च अदालत दिल्लीले आफ्ना नागरिकलाई खोप नपुगी अन्यत्र बिक्री गर्न नपाइने आदेश सुनाएपछि सेरम इन्स्टिच्युट अफ इन्डियाले सोमबार पठाउने भनिएको थप १० लाख खोप रोकेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ।
पहिलो डोजका रूपमा सेरमको कोभिसिल्ड खोप दिइएकालाई दोस्रो डोजका रूपमा अन्य कम्पनीको खोप दिन मिल्दैन। हाल सरकारसित सेरमको ५ लाख डोज खोप मौज्दात छ। नागरिक दैनिकबाट




प्रतिक्रिया