प्रधानमन्त्री बन्न प्रस्तावका बाबजुद देउवा अझै अनिर्णित


काठमाडौं, ३ चैत्र । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई तत्कालिन नेपाल कम्युनिस्ट पार्टी दाहाल नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रधानमन्त्रीको प्रस्ताव लिएर पटक पटक बुढानिलकण्ठ नै गए । तर, देउवाले हुन्छ या हुँदैन दुवै भनेनन् । उनी पर्ख र हेरको रणनीतिमा रहे ।

देउवाको अलमलबीच प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक मैदानमा आफ्नो खेल खेलिरहे । अहिले पनि देउवालाई प्रचण्ड र राष्ट्रिय जनता पार्टीका शिर्ष नेताहरुले प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् । तर, उनी अझै अलमलमा रहेको बुझिएको छ ।

देउवाको अलमलबीच ओलीले राष्ट्रिय जनता पार्टीसँग मिलेर सरकार बनाउन खोजिरहेका छन् । उनले राजपाको समर्थनमा सरकार बनाउन खोजेपनि सफल भइहाल्ने सम्भावना कमजोर छ । राजपा आफै सरकारको नेतृत्वको विकल्पसहित अघि बढेको छ ।

देउवाले पटक पटकको प्रस्तावमा अलमल गर्दा राजपालाई फाइदा पुग्दै गएको छ । निर्णायक शक्ति नै राजपा बनेको छ । राजपालाई देउवाले सरकारको नेतृत्व गर्न सहयोग गरेमा प्रचण्ड पनि सहमत बन्ने देखिएका छन् । तैपनि, देउवा अनिर्णित छन् ।

प्रधानमन्त्री ओलीसँगको देउवाको भित्री समिकरण अझै नटुटेको कतिपयको बुझाई छ । यसकारण पनि उनी अनिर्णित छन् । अर्को महत्वपूर्ण विषय देउवा आफै सरकारको नेतृत्वका लागि बढ्न खोजेका छन् । त्यसमा यताउता नहोस् भन्नेमा उनी सजग देखिएका छन् ।

सरकारको नेतृत्व पाउन देउवालाई काँग्रेसभित्र एकमत बनेर माओवादी केन्द्र र राजपाको पूर्ण समर्थन आवश्यक छ । कि त देउवाले नेकपा एमालेको साथ पाउनुपर्छ । तर, काँग्रेसभित्र ओलीसँग समिकरण बनाउन नहुनेमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आवाज उठाउँदै आएको छ । यसले पनि देउवामाथि चुनौती बढेको छ ।