Logo

चौतर्फी घेराबन्दीमा ओली, सत्ता संकट टर्ला ?



समाचार विश्लेषण । प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक जीवनकै सबैभन्दा ठुलो घेराबन्दीमा परेका छन् । दुईपटक आफूविरुद्धको घेराबन्दी तोड्दै सत्ता संकट टारेका ओलीलाई यसपटक भने निकै ठुलो चुनौती छ ।

ओली यस्तो घेराबन्दीमा छन् कि कुनैपनि बेला उनको सत्तामाथि छापामार शैलीको प्रहार हुनसक्छ । नेकपा एमालेभित्र ओली घेराबन्दीमा छन् । नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट पनि ओली घेराबन्दीमा परिसकेका छन् ।

एमालेभित्र माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमले ओलीलाई घेराबन्दीमा पारेका छन् । यी तीन नेता मिल्दा ओली पार्टीभित्रै अप्ठ्यारोमा पर्न सक्छन् ।
काँग्रेस, माओवादी केन्द्र र जसपाको ओलीविरुद्ध समिकरण बन्ने सम्भावना बढ्दै गएको छ । तीनवटै दल मिलेर ओलीलाई घेराबन्दीमा पार्ने माहोल सृजना गर्दैछन् । ओलीसँग तीन दल एकढिक्का भएर लागेमा कठिन परिस्थिति आउन सक्छ । उनको सत्ता ढल्न सक्छ ।

ओलीसँग अब घेराबन्दी तोड्ने केही विकल्प मात्र बाँकी छन् । नेकपा एमाले एकजुट बनाउने र माओवादी केन्द्रसँग सहकार्य वा एकता गर्ने विकल्प हुनसक्छ । त्यसका लागि उनले प्रधानमन्त्री पद त्याग्नुपर्छ जसमा सहमत छेनन् । प्रधानमन्त्रीमा कायमै रहेर माधव नेपाल र प्रचण्डलाई साथ लिने सम्भावना असम्भवप्रायः देखिन्छ ।

नेपाली काँग्रेसकै साथ लिने आशा पनि ओलीलाई छ । निर्वाचनमा जाने सर्तमा त्यो केही सम्भव हुनसक्छ । तर, काँग्रेसभित्र ओलीलाई समर्थन गर्ने विपक्षमा माहोल छ । काँग्रेसलाई सरकारको नेतृत्व दिएर ओली अगाडि बढ्ने अन्तिम अस्त्र पनि हुनसक्छ । त्यस्तो समिकरणको विपक्षमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल देखिएका छन् ।

जनता समाजवादी पार्टीको साथ लिने ओलीको रणनीति देखिन्छ । तर, जसपा ओलीसँग मिलेर जान तयार छैन । जसपालाई सरकारको नेतृत्व दिएर ओली अगाडि बढ्ने विकल्प पनि छ ।

घेराबन्दी तोड्ने अर्को विकल्पमा जसपा विभाजन गराएर अघि बढ्ने पनि हुनसक्छ । तर, जसपा विभाजन हुने सम्भावना कमजोर छ । यसरी ओली चौतर्फी घेराबन्दीमा छन् जसलाई तोड्न सजिलो छैन ।



प्रतिक्रिया दिनुहोस्