दलहरूबीच सहकार्य जरुरी


काठमाडौं, चैत ४। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरूबीचको सहकार्य आवश्यक भएकाले निरन्तरता दिनुपर्नेमा जोड दिएकी छन् ।

उनले भनिन, ‘‘हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहिआएको छ । दलका नेतृत्वले सधैँं उच्च राजनीतिक संस्कार कायम गर्दै आउनुभएको छ । यो असल संस्कार निरन्तर कायम रहनुपर्दछ ।’’

राष्ट्रपति भण्डारीको आह्वानमा प्रमुख राजनीतिक दलका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्रीहरूसँगको मङ्गलबार भएको सर्वदलीय बैठकमा उनले यस्तो विचार राखेकी हुन्। बैठकमा मुलुकको समसामयिक परिस्थिति तथा राष्ट्रिय सरोकारका विषयमा विचार आदान–प्रदान भएको हो ।

बैठकमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव तथा नेता राजेन्द्र महतोसहितका नेताहरू सहभागी रहेका थिए ।