Logo

एमाले विवाद उत्कर्षमा



काठमाडौं, चैत ४ । सत्ताको बागडोर सम्हालिरहेको नेकपा एमालेभित्रको विवाद थप उत्कर्षमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते केन्द्रीय सदस्यहरूको बैठक राखेर माधवकुमार नेपाल पक्षका सबै नेताहरूको जिम्मेवारी खोसेपछि नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय भेला गर्दैछ।

फागुन २८ गतेको निर्णय मान्य नहुने भन्दै नेपाल समूहले देशभरका कार्यकर्तालाई काठमाडौं बोलाएर भेला आयोजना गर्न लागेको हो। ओलीले सो भेलामा सहभागी भए कारबाही गर्ने धम्की दिएका छन् तर नेपाल समूहले कारबाही सहन लामबद्ध रहेको जनाएको छ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेभित्र पुरानो विवाद झन् बढेको छ। ओली पक्षले नेपाल समूहको जिम्मेवारी खोस्दै लगेपछि विवाद उत्कर्षमा पुगेको हो। हाल नेपाल पक्षले देशव्यापी रूपमा आफ्नो तहबाट एमालेभित्र समानान्तर कमिटी बनाउन लागेको छ। ‘बुधबार सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलामा दुई हजार पाँच सय कार्यकर्ता सहभागी हुँदैछन्।

पार्टी एकता जोगाउन र पार्टीलाई अझ बलियो बनाउन भेला आयोजना गरिएको हो’, नेपाल पक्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले भने। उनका अनुसार भेलाको सबै तयारी पूरा भइसकेको छ। नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेपछि सोमबार बिहान एमाले पार्टी कार्यालय धुम्बाराहीमा ओली र नेपाल दोस्रो तहका नेताहरूसहित छलफलमा जुटेका थिए।

ओलीले फागुन २८ गतेको निर्णयबाट पछि नहट्ने बताएपछि छलफल बिनानिष्कर्ष टुंगिएको थियो। फागुन २८ को निर्णय नसच्याउने हो भने चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने नेपालले जनाएका थिए। मंगलबार बिहान ओलीले बालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रममा नेपाल समूहका कोही पनि सहभागी भएनन्। ओलीले चियापान कार्यक्रममा सम्बोधन गर्दै नेपाल समूहको भेलामा गए कारबाही गर्ने चेतावनी दिए।

त्यसपछि नेपाल समूहले आयोजना गरेका पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफूहरू कारबाही भोग्न तयार रहेको बताए। उनले प्रधानमन्त्री ओलीलाई भेलामा सहभागी हुन र भेलाको उद्घाटन गर्नसमेत आग्रह गरेका थिए। भेलामा आउने नेता–कार्यकर्ता एमालेकै भएको भन्दै भेलाको उद्घाटन गर्न ओलीलाई आग्रह गरेका हुन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्