Logo

एमाले फुटको नजिक, ओली र नेपालद्वारा एक-अर्कामाथि कारबाहीको तयारी



काठमाडौं, ४ फागुन । नेकपा एमाले फुटको नजिक पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २८ फागुनमा बालुवाटारमा केन्द्रीय कमिटी बैठक राखेर विधानको बाधा अड्काउ फुकाएर अध्यक्ष र महासचिवबाहेक पदाधिकारी र स्थायी कमिटी खारेज गरेपछि विवाद चर्किएको हो ।

२८ फागुनको निर्णय फिर्ता लिन नेपाल समूहले राखेको प्रस्ताव ओलीले अस्वीकार गरेका छन् । उनले ७ फागुनमा केन्द्रीय कमिटी बैठक डाकेका छन् । त्यसमा नेपाल-खनाल समूहका नेताहरु सहभागी नहुने अवस्था देखिएको छ ।

आज नेपाल र खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेला डाकेको छ । सानेपास्थित पार्टी प्यालेसमा आज र भोलि भेला राखेको हो । यो भेलाप्रति ओली समूह असन्तुष्ट छ ।
ओलीले नेपाल -खनाल समूहका नेताहरुमाथि कारबाहीको चेतावनी दिएका छन् । नेपाल समूहका नेता योगेश भट्टराईले कारबाही भोग्न तयार रहेको बताइसकेका छन् ।

एकले अर्कामाथि कारबाहीको चेतावनी दिएपछि एमाले फुटको संघारमा पुगेको छ । एमालेभित्र ९औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र स्थायी कमिटीमा नेपाल खनाल समूहको बहुमत थियो । केन्द्रीय कमिटीमा भने ओली झीनो मतले बहुमतमा थिए ।

यसैगरी, संसदीय दलमा ओली समूहमा ८० जना रहेका छन् । नेपाल-खनाल समूहमा ३५ को हाराहारीमा छन् । बाँकी सांसद तटस्थ भूमिकामा छन् । केन्द्रीय कमिटी र संसदीय दलको अंकगणितले निकै अर्थ राख्ने देखिन्छ । यसकारण दुवै समूह केन्द्रीय सदस्य र सांसदहरुलाई तान्न लागेका छन् ।



प्रतिक्रिया दिनुहोस्