Logo

एमाले तीन भागमा विभाजित हुनसक्ने



काठमाडौं, ४ फागुन । नेकपा एमालेको विवाद उत्कर्षमा पुगेपछि विभाजनको नजिक पुगेको छ । सहमतिको अन्तिम प्रयास समेत सफल हुन नसकेपछि अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, प्रभावशाली नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल अलग अलग ढंगले सक्रिय हुन थालेका छन् । एकता अभियान चलाएका बामदेव गौतमको पनि आफ्नै रणनीति छ ।

२८ फागुनमा ओलीले अध्यक्ष र महासचिवबाहेकका निर्वाचित पदाधिकारी नै खारेज गर्न चालेको कदम नसच्चिए एमाले फुट्ने निष्कर्ष नेपाल खनाल र गौतम पक्षधरले निकालेको छ । तर, ओली चालिसकेको कदमबाट पछाडि हट्न तयार देखिएका छैनन् ।

आज नेपाल खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला ओलीका लागि चुनौती हो । ७ फागुनमा डाकिएको केन्द्रीय कमिटी बैठक नेपाल खनाल समूहमात्र नभई गौतम समूहले समेत बहिष्कार गर्न सक्छ । योसँगै एक अर्कामाथि कारबाहीको कदम चाल्न शुरु हुने देखिएको छ ।

ओलीबाट नेपाल खनाल समूह विभाजित भएमा प्रभावशाली नेता बामदेव गौतम छुट्टै दल खोल्ने रणनीति बनाएका छन् । उनी कुनैपनि समूहमा नलागी तटस्थ भूमिकामा छन् । अब उनले एकता अभियानका नाममा दल जसरी नै कदम चाल्ने तयारी गरेको बुझिएको छ ।

ओलीले नेपाल र खनाल समूहका नेताहरुमाथि कारबाहीको चेतावनी दिएका छन् । नेपाल समूहका नेता योगेश भट्टराईले कारबाही भोग्न तयार रहेको बताइसकेका छन् । कारबहीको कदम चालिएर एमाले फुट्ने निश्चित जस्तै हुने देखिन्छ ।

एमालेलाई फुटबाट जोगाउन बामदेव गौतमले अन्तिम प्रयास जारी राखेका छन् । उनले २८ फागुनमा ओलीले चालेको कदम फिर्ता लिन लगाउने प्रयास गरिरहेका छन् । तर, ओली त्यसमा पछि नहट्ने अडानमा छन् ।



प्रतिक्रिया दिनुहोस्