वीरगञ्ज, चैत ५ । सरकारले दुई वर्षअघि घोषणा गरेको सामाजिक सुरक्षा कार्यक्रममा पहिलेको तुलनामा आकर्षण बढ्दै गएको छ । कोषलाई प्रभावकारी बनाउन पछिल्लो समय सामाजिक सुरक्षा कोषले ‘स्किम’ पुनरवलोकन गरेर ऋण तथा सापटीसम्बन्धी सुविधालाई कार्यान्वयनमा लगेसँगै आकर्षण बढेको देखिएको हो ।
कोषका अनुसार हालसम्म १३ हजार ५ सय २३ रोजगारदाता कम्पनीमा कार्यरत १ लाख ९३ हजार योगदानकर्ता कोषमा आबद्ध भएका छन् । पछिल्लो एक सातामा मात्रै १ सय १० रोजगारदातामा कार्यरत ८ सय ८ जना श्रमिक आबद्ध भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको साप्ताहिक प्रगति प्रतिवेदनमा उल्लेख छ ।
पछिल्लो एक सातामा ८८ जना योगदानकर्ताले विभिन्न योजनाअन्तर्गत दाबी गरेको र उनीहरूलाई ५३ लाख १९ हजार भुक्तानी गरिएको सरकारी प्रतिवेदनमा देखिन्छ ।
कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीका अनुसार कोषमा २ लाख योगदानकर्ता छिट्टै पुग्ने देखिएको छ । ‘समयसापेक्षिक रूपमै कोषलाई अघि बढाउन स्किम संशोधन गरेका हौं । यसले राम्रो नतिजा दिइरहेको छ,’ उनले भने ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषको पहिलो चरणमा ल्याइएको ‘योजना सञ्चालन कार्यविधि’ लाई कोषले केही समयअघि प्रभावकारी बनाउन दोस्रो पटक कार्यविधि संशोधन गरेको थियो । दोस्रो पटकको संशोधनमा ऐनमा बाझिएका, द्विविधा भएका, सञ्चय कोष तथा उपदान र अवकाशपछि पाउने सुविधाबारे सुरुमा स्पष्ट नभएका विषयलाई प्रस्ट्याइएको छ ।
यसअघि ६० वर्षअघि पैसा लिन नपाउने व्यवस्था ऐनमा रहेकामा यसलाई हटाइएको छ । गरिरहेको काम छाडे केही पनि नपाइने भन्ने विषय पनि कार्यविधिमार्फत सम्बोधन गरिएको कोषका अधिकारीहरू बताउँछन् ।
त्यस्तै, सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि दोस्रो पटक संशोधन गर्दै पारिश्रमिकको २८।३३ प्रतिशत रकममध्ये निवृत्तिभरण योजनामा २० प्रतिशत र अवकाश सुविधा योजनामा ८।३३ प्रतिशत राख्न मिल्ने व्यवस्था गरिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।




प्रतिक्रिया