Logo

ओली प्रवृत्तिविरूद्ध नेपाल–खनालः पार्टी एकता जोगाउन राष्ट्रिय भेला



काठमाडौं, चैत ५ । एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाले पार्टी एकता सुदृढ गर्ने दाबी गरिएको छ।

राष्ट्रिय कार्यकर्ता भेलाको पहिलो दिन बुधबार साँझ यसबारे जानकारी दिँदै एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराइैले पार्टी विभाजन गर्न वा समानन्तर कमिटी बनाउन भेला आयोजना नगरिएको स्पष्ट पारे। उनले पार्टीलाई पुनर्जीवित र एकताबद्ध गर्न भेला आयोजना गरिएको बताए।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता खनाल र नेपाल समूहलाई राष्ट्रिय कार्यकर्ता भेला गरे कारबाही गर्ने चेतावनी दिए पनि भेला रोकिएन। ‘हामी मन, वचन र कर्मले पार्टी एकताको पक्षमा छौं, विभाजनको पक्षमा छैनौं, पार्टी एकता जोगाउँछौं।

अर्को पक्ष हामी छुट्टिएर गए हुन्थ्यो भन्नेमा छ तर हामी पार्टी फुटाउने वा छुट्टिने पक्षमा छैनौं, एकताका पक्षमा छौं’, भट्टराईले भने। सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्र र एमालेको एकतालाई खारेज गरेका कारण पार्टी २०७५ जेठ २ को अवस्थामा फर्किएको तर ओली पक्षले एकलौटी ढंगले केन्द्रीय कमिटीमा सदस्य थप र मनमौजी गर्न थालेकाले त्यसलाई सच्याउन भेला गर्नुपरेको भट्टराईले बताए।

‘यो भेला एमालेबाट छुट्टिनका लागि गरेको होइन, त्यसो भएको भए ब्यानरमा अर्कै नाम हुन्थ्यो। यो पार्टी निर्माण गर्न हाम्रो ठूलो भूमिका छ, हाम्रो मेहनत, पसिना छ, लाखौं सदस्यको सहभागिता र नेताको भूमिका छ, मन, वचन र कर्मले यो पार्टी विभाजन हुन दिँदैनौं’, उनले भने।

उनले सर्वोच्चको फैसलापछि एमाले २०७५ जेठ २ को अवस्थामा फर्किएको र त्यसैका आधारमा एकता हुनुपर्छ भनेर भेला राखिएको प्रष्ट पारे। ‘२०७५ साल जेठ २ गतेको संगठनमा फर्कन र त्यसैलाई एकताको मुख्य आधार बनाउनुपर्छ भनेर भेला आयोजना भएको हो’, उनले भने, ‘हामी समान्नातर कमिटी चलाउँदैनौं, २०७५ जेठ २ गतेअघिको कमिटी चलाउँछौं’, भट्टराईले भने।

भट्टराईले पार्टी अध्यक्ष ओलीले चैत ७ गतेका लागि बोलाएको बैठक केन्द्रीय कमिटीको नभएको बताएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्