काठमाडौं, चैत ६ । संघीय सरकारले पर्याप्त बजेट नदिएको भन्दै योजना माग्न जनप्रतिनिधि राजधानी आउनु नौलो होइन। तर बझाङका जनप्रतिनिधि जनतालाई खुवाउने खाद्यान्न नभएको भन्दै चामल माग्न काठमाडौं आएका छन्।
गाउँमा खाद्यान्न अभाव भएपछि चामल माग्न बझाङको साइपाल गाउँपालिकाकी उपाध्यक्ष कल्पनादेवी बोहोरा दुई वर्षको दूधे बालक बोकेर राजधानी आएकी छन्। उनीसँगै चारजना वडाध्यक्ष पनि आएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकलाई बुधबार भेटेर ध्यानाकर्षण गराएका जनप्रतिनिधिले बिहीबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश पौडेललाई पनि भेटेर चामल पठाउन आग्रह गरे।
गाउँमा खाद्यान्न उत्पादन नभएपछि जनता भोकभोकै हुने भएकाले चामल माग्न काठमाडौं आएको उपाध्यक्ष बोहोराले बताइन्। ‘गरिब जनताले छाक टार्न अन्न पाएनन्,’ बोहोराले भनिन्, ‘चामल पठाउन सरकारलाई गुहारेका छौं।’
गाउँमा खाद्यान्न अभाव भएपछि चामल माग्न बझाङको साइपाल गाउँपालिकाकी उपाध्यक्ष कल्पनादेवी बोहोरा दुई वर्षको छोरो बोकेर राजधानी आएकी छन्। उनीसँगै चारजना वडाध्यक्ष पनि आएका छन्।
यो वर्ष खडेरीका कारण खाद्यान्न उत्पादन नभएको उनले बताइन्। ‘खडेरीले स्थानीय उत्पादन पनि भएन,’ उनले भनिन्, ‘चामल नपाए जनता भोकभोकै मर्ने अवस्था छ।’ उच्च हिमाली क्षेत्र भएकाले साइपालमा गहुँ, जौ, फापर खेती हुन्छ। यो वर्ष खडेरीका कारण अधिकांश बारी बाँझै रहेको उनले बताइन्। ‘स्थानीय उत्पादनले दुईरतीन महिनालाई पनि खान पुग्दैन,’ बोहोराले भनिन्, ‘खाद्यको कोटा पनि थोरै भएकाले चामल अभाव भएको हो।’
साइपालको जनसंख्या करिब ६ हजार छ। खाद्य कम्पनीले साइपालका लागि दुई हजार क्विन्टल चामलको कोटा निर्धारण गरेको छ। सरकारले दुर्गम जिल्लामा चामल ढुवानीमा अनुदान दिन्छ। कोटाको चामल सकिएकाले थप तीन हजार क्विन्टल चामल पठाउन अनुरोध गरेको उपाध्यक्ष बोहोराले बताइन्।
खाद्यका सिइओ पौडेललाई भेटेका जनप्रतिनिधिले चामल पठाउने सुनिश्चित नहुँदासम्म घर नफर्किने बताए। रित्तै फर्किए जनताले घेराबन्दी गर्ने भएकाले चामल पठाउने निर्णय भएपछि मात्र घर फर्किने साइपाल गाउँपालिका–२ का वडाध्यक्ष हरिलाल बोहोराले बताएको आजको नागरिक दैनिकमा खवर छ ।




प्रतिक्रिया