Logo

एमाले नेपाल–खनाल राष्ट्रिय भेलाः ओली नसच्चिए समानान्तर कमिटी



काठमाडौं, चैत ६ । सत्ताको बागडोर समालेको एमालेभित्रको विवाद अब समानान्तर कमिटी निर्माण तहसम्म पुग्ने भएको छ। पार्टीमा केपी ओली समूहले आफूहरूलाई पेलेर स्थान नदिए त्यसको प्रतिवाद गर्न समानान्तर कमिटी बनाएर अघि बढ्ने तयारीमा नेपाल–खनाल समूह पुगेको हो। नेपाल–खनाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई सच्चिन आग्रह गर्दै नसच्चिए उनको भण्डाफोर गर्न समानान्तर कमिटी बनाएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ।

राष्ट्रिय कार्यकर्ता भेलामा सहभागीले पार्टीभित्र फरक मत राख्नेलाई ओली पक्षले पेलेर जाने रबैया कायमै राखे त्यसविरुद्ध संघर्ष जारी राख्ने र नसच्चिए समानान्तर कमिटीको अभ्यासमा जान सुझाव दिएका छन्। सहभागीलाई १० समूहमा विभाजन गरेर छलफल गराइएको थियो। १७ बुँदे प्रस्ताव पारित गर्दै दुईदिने भेला बिहीबार सकिएको छ।

माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले समानान्तर कमिटी बनाउनुअघि देशभरका पार्टी कमिटी ब्युँताउने भएको छ। देशभरका चार हजारभन्दा बढी नेता–कार्यकर्ता सहभागी भेलाले अध्यक्ष ओलीले पार्टी विभाजन गर्न खोजेको भन्दै देशभर पार्टी कमिटीहरू ब्युँताउने प्रस्ताव पारित गरेको छ। जसअनुसार सर्वोच्च अदालतको आदेशअनुसार पार्टीलाई २ जेठ २०७५ मा फर्काउने र सबै कमिटी ब्युँताइनेछ। ‘पहिला पार्टी कमिटीहरू ब्युँताउने हो, नभए समानान्तर कमिटी बनाउने तयारी छ’, भेला संयोजन गरिरहेका एक स्थायी कमिटी सदस्यले भने।

एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले साँझ भेलाको निष्कर्ष सुनाउँदै देशभरका पार्टी कमिटीलाई २०७५ साल जेठ २ गतेकै अवस्थामा फर्काउने निष्कर्ष भेलाले निकालेको बताए। उनले फागुन २८ गते ओलीले आफ्नो गुटको बैठक राखेर केन्द्रीय समितिमा सदस्य थप गरेको विषय मान्य नहुने निष्कर्ष पनि भेलाले निकालेको जानकारी दिए। ओलीले फागुन २८ गते गरेका निर्णय पार्टी विधानविपरीत भएको ठहर भेलाले गरेको छ। भट्टराईले माओवादी केन्द्रसँग एकीकरणपूर्वकै अवस्थामा पार्टी कमिटीहरू चलायमान बनाउनुपर्ने भेलाको सुझाव रहेको जानकारी दिए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्