Logo

प्रधानमन्त्री ओलीले राजीनामा देलान् ?



काठमाडौं, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षी दलले राजीनामा माग्दै आएका छन् । उनको आफ्नै दल नेकपा एमालेको नेपाल-खनाल समूहले पनि राजीनामालाई मुख्य मुद्दा बनाइसकेको छ । नेकपा माओवादी केन्द्रले ओलीमाथि नैतिकताको प्रश्न उठाउँदै राजीनामा माग्दै आएको छ ।

आज प्रतिनिधि सभामा नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागे । उनले ओलीको नैतिकतामाथि प्रश्न उठाउँदै राजीनामाको माग गरे । त्यसो त काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्री ओलीको राजीनामा माग्दै आएका छन् ।

काँग्रेस महामन्त्री डा.सशांक कोइरालाले ५ चैत्रमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव १० दिनभित्र ल्याउने बताइसकेका छन् । अविश्वासको प्रस्ताव ल्याउन लागेको विषय बाहिर आइरहँदा काँग्रेसले ओलीको राजीनामा संसदभित्रै मागेको हो ।

एमालेभित्र ओलीविरुद्ध नेपाल-खनाल समूह संगठित हुँदै सत्ताबाट हटाउन सक्रिय भइरहेपनि टसमस भएका छन् । ओली कुनै हालतमा राजीनामा नदिने अडानमा छन् ।

ओलीले माओवादी केन्द्रलाई समर्थन फिर्ता लिन चुनौती दिइरहेका छन् । तर, माओवादी केन्द्रले समर्थन फिर्ता नलिई रणनीतिक चतुर्याई देखाइरहेको छ । समर्थन फिर्ता लिएमा ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । जसले उनको सत्ता अझै एक महिना सुरक्षित हुन्छ । त्यसबीच कुनै राजनीतिक व्यवस्थापन समेत गर्ने सम्भावना रहन्छ ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन पनि ओलीले चुनौती दिएका छन् । उनी अविश्वासको प्रस्ताव असफल बनाउने तयारीका साथ बसेका छन् । जनता समाजवादी पार्टीलाई साथमा लिन सकेमा ओलीको सत्ता अर्को एक वर्ष ढुक्कले चल्न सक्छ । त्यसैले उनी अविश्वासको प्रस्ताव आउनसक्ने भएकाले तयारीमा छन् । तर, ओली कुनै हालतमा राजीनामा नदिने अडानमा छन् ।



प्रतिक्रिया दिनुहोस्