Logo

एमाले माथिबाट तलसम्म चिरा पर्दै



काठमाडौं, ७ फागुन । माथिल्लो तहमा धाँजा फाटेको नेकपा एमालेमा तलसम्म चीरा पर्दै गएको छ । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली प्रभावशाली नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाललाई निरन्तर कमजोर पार्ने अभ्यासमा लागेका छन् । खनाल-नेपाल समूहले त्यसको सामना गर्दा गर्दै तल्लो निकायसम्म एमालेमा चीरा पर्न थालेको छ ।

ओलीले २८ फागुनमा बालुवाटारमा केन्द्रीय कमिटी बैठक राखेर विधानको बाधा अड्काउ फुकाएर अध्यक्ष र महासचिवबाहेक पदाधिकारी र स्थायी कमिटी खारेज गरे । त्यसको प्रत्युत्तरमा नेपाल-खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेला गरेर ६ फागुनमा प्रस्ताव नै पारित गरेको छ । जसमा २८ फागुनको निर्णय अस्वीकार गर्ने देखि ओलीको राजीनामासम्मको विषय छ ।

आज डाकिएको केन्द्रीय कमिटी बैठकमा नेपाल-खनाल समूहले बहिष्कार गरेको छ । बैठकमा नेपाल खनाल समूह नआएपनि ओली अर्को निर्णय गरेर अगाडि बढ्ने तयारीमा छन् । यसले फेरि टकराव बढाउने देखिन्छ ।

युवा संघमा पनि धाँजा फाटेको छ । ओली समूहले अध्यक्षमा वचनबहादुर सिंहलाई चयन गरिसकेको छ । आज नेपाल-खनाल समूहले छुट्टै राष्ट्रिय भेला गर्दैछ । रिपोर्टर्स क्लबमा शुक्रबार राष्ट्रिय कार्यकर्ता भेला आयोजक कमिटीका संयोजक नरेश सिंहले माधवकुमार नेपाल प्रमुख अतिथिका रुपमा सहभागी भई युवा संघको भेला हुने जानकारी दिएका थिए ।

यसैगरी, एमालेभित्र युवा, विद्यार्थी, महिलालगायत भातृ संघ संगठनहरुमा पनि धाँजा फाटेको छ । समानान्तर समूह बनाउने देखि एक अर्काको अस्तित्व अस्वीकार गर्ने सम्मको अवस्था बनेको छ ।

ओलीले पदाधिकारी देखि स्थायी कमिटीसम्म धावा बोल्नुमा अल्पमतमा रहनु मुख्य कारण हो । तर, संसदीय दलमा ओली बहुमतमा छन् । पदाधिकारी र स्थायी कमिटीमा नेपाल-खनाल समूहको स्पष्ट बहुमत थियो । उनीहरु निर्वाचित थिए । संसदीय दलमा ओली समूहमा ८० जना रहेका छन् । नेपाल-खनाल समूहमा ३५ को हाराहारीमा छन् । बाँकी सांसद तटस्थ भूमिकामा छन् ।

एमालेभित्र एकले अर्कोको निर्णय नमान्ने गरी दुवै समूह अगाडि बढ्न थालेका छन् । धाँजा बढ्दै गएको छ । यसले कुनैपनि बेला दुर्घटनाको अवस्था निर्माण हुने खतरा पैदा भएको छ ।



प्रतिक्रिया दिनुहोस्