Logo

एमाले केन्द्रीय कमिटी बैठकद्वारा माधव नेपालसहित पाँच नेतासँग स्पष्टिकरण माग्ने निर्णय



काठमाडौं, ७ चैत्र । नेकपा एमाले केन्द्रीय कमिटी बैठकले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित पाँच नेताहरुसँग स्पष्टिकरण माग्ने निर्णय गरेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले नेपालसहित उनको समूहका नेताहरुसँग स्पष्टिकरण माग्ने निर्णय गरेको हो ।

स्पष्टिकरण मागिएकाहरुमा नेपालका अलावा, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्री छन् । उनीहरु प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खरो रुपमा प्रस्तुत हुँदै आएका छन् ।

नेकपाभित्र विवाद चुलीमा पुग्दै गर्दा आज केन्द्रीय कमिटी बैठक डाकिएको हो । तर, नेपाल खनाल समूहले बैठक बहिष्कार गरेको छ ।

आज संसदीय दलको बैठकमा पनि नेपाल खनाल समूहका तीन सांसद मात्र पुगेका थिए । बामदेव गौतम तटस्थ भूमिकामा छन् । उनी पनि बैठकमा पुगेका थिए ।

ओलीले पार्टी अनुशासनविपरित जाने र बैठकहरुमा सहभागी नहुनेलाई कारबाही गर्ने चेतावनी दिदै आएका थिए ।-तस्बिर स्रोतः प्रधानमन्त्रीको कार्यालय



प्रतिक्रिया दिनुहोस्