Logo

ब्याज अनुदानका कर्जाबारे अनुगमन गर्दै राष्ट्र बैंक



काठमाडौं, चैत ८ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत ब्याज अनुदानमा दिएका कर्जा प्रवाहबारे अनुगमन गर्ने भएको छ । पुनर्कर्जा, सहुलियतपूर्ण कर्जा र व्यावसायिक निरन्तरता कर्जा कार्यक्रम लक्षित वर्गमा पुर्‍याउन केन्द्रीय बैंकले थप कडाइ गर्दै यसलाई अनुगमनको दायरामा ल्याएको हो ।

राष्ट्र बैंकका अनुसार कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरण गर्न एवं आर्थिक पुनरुत्थानका लागि कार्यान्वयनमा रहेका उक्त कर्जा लक्षित वर्गको पहुँचमा पुगेको छ÷छैन भन्ने अनुगमन गर्न लागिएको हो । यसका लागि केन्द्रीय बैंकले शुक्रवार एक सूचना जारी गर्दै तोकिएको ढाँचा अनुसारको विवरण प्रत्येक त्रैमास समाप्त भएको मितिले एक साताभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । अनुगमन गर्ने उद्देश्यले केन्द्रीय बैंकले पहिलोपटक यस्तो प्रकारको तथ्यांक उपलब्ध गराउन बैंकहरूलाई निर्देशन दिएको हो ।

अनुगमनका लागि पठाइएको ढाँचाअनुसार विवरण पेश गर्न केन्द्रीय बैंकले भनेको छ । यस अनुसार बैंकहरूले प्रवाहित सहुलियत कर्जाको प्रकार, ऋणीको नाम तथा सम्पर्क नम्बर, परियोजना स्थलको ठेगाना, संस्था दर्ताको जानकारी लगायत विवरण पेश गर्नुपर्नेछ । यस्ता खालका कर्जाको वर्गीकरण अनुसार क्षेत्र, उपक्षेत्र, कर्जा प्रकार, स्वीकृत सीमा, उपयोग गरेको अवधि र धितो लिएरनलिएकोबारे खुल्नेगरी विवरण पेश गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । ठूलो परिमाणमा अनुदानसहित कर्जा विस्तार भएकाले पाउनैपर्ने व्यक्तिले यस्ता कर्जा सुविधा पाएरनपाएको, यसमा दुरुपयोग भएको हुन सक्नेबारे अनुगमन गर्न लागिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले बताए ।

पुनर्कर्जा कोषमा ४२ अर्ब ५० करोड मात्र रहँदै आए पनि चालू आवमा भने कोभिडका कारण यसको ५ गुणा अर्थात् २ खर्ब १२ अर्ब रुपैयाँ बराबरको यस्तो कर्जा दिने घोषणा गरिएको थियो । यसकारण राष्ट्र बैंकले आफूले गर्ने अभ्यासभन्दा पर गएर पुनर्कर्जा दिएको प्रवक्ता डा भट्टको भनाइ छ । ‘वित्तीय संस्थाहरूले जिम्मेवार भएर लगानी गरेका छन् वा छैनन् हेर्नुपर्ने आवश्यकता देखिएको हो,’ उनले भने, ‘ठूलो परिमाणमा कर्जा गइसकेकाले पनि अनुगमन जरुरी छ ।’ डा भट्टका अनुसार हालसम्म १ खर्ब ४२ अर्ब रुपैयाँ पुनर्कर्जा स्वीकृत भइसकेको र यसअनुसार १ खर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा प्रवाह भइसकेको छ । यसअघि सहुलियत दरमा प्रदान गरिएको पुनर्कर्जा २०७७ माघ मसान्तमा ८२ अर्ब २९ करोड लगानीमा थियो । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्