Logo

राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेश प्रस्थान (फोटोफिचर)



काठमाडौं, ९ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेश प्रस्थान गरेकी छिन् । दुई दिने राजकीय भ्रमणका लागि आज बङ्गलादेश प्रस्थान गरेकी हुन् ।

बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी बङ्गलादेश प्रस्थान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रिय सभाका उपाध्यक्ष गणेशप्रसाद तिमिसिनाका अलावा सरकारका मन्त्रीहरुले विदाई गरेका थिए ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमको न्यारो बडी ए ३२० जहाजबाट ढाका प्रस्थान गरेकी हुन् ।

उनी स्थानीय समयअनुसार बिहान १० बजे ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने छिन । त्यहाँ पुग्दा उनलाई बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रले स्वागत गर्ने छन् ।

राष्ट्रपति भण्डारीलाई त्यहाँ २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ले सम्मान गरिनेछ । सो पश्चात् त्यहाँको राष्ट्रिय शहीद स्मृति, सभारमा शहीदप्रति श्रद्धाञ्जलिका लागि पुग्ने छिन । आजै समकक्षी हमिदसँग दुईपक्षीय भेटवार्ता हुनेछ भने प्रधानमन्त्री शेख हसिनालगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

तस्बिरहरुः मुकुन्द कालिकोटे /रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्