Logo

बारा र पर्सामा एकै दिन १० संक्रमित फेला



काठमाडौं, चैत १० । भारतका विभिन्न राज्यमा कोरोना संक्रमण दर फेरि बढेसँगै सीमा जोडिएका प्रदेश २ का बारा र पर्सामा एकै दिन १० जना संक्रमित थपिएका छन् । केही महिनायता कोरोना संक्रमण दर शून्यमा झरेको प्रदेश २ मा सोमबार एकैसाथ १० जनामा संक्रमण पुष्टि भएको हो ।

जनकपुरस्थित प्रदेश २ स्वास्थ्य निर्देशनालयले जारी गरेको बुलेटिनमा नारायणी अस्पताल वीरगञ्जमा २४ घण्टाभित्र ५० जनामा स्वाब परीक्षण गर्दा १० जना संक्रमित भेटिएको उल्लेख छ । पर्साका एक संक्रमित दुई साताअघि भारतको मुम्बईबाट फर्किएका थिए ।

दुई जिल्लामा एकै दिन १० जना संक्रमित थपिँदा त्रास बढेको छ । संक्रमण दर उच्च भएका भारतीय क्षेत्रमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन् । चिकित्सकले नाकामा स्वास्थ्य सर्तकता अपनाउन सुझाइरहे पनि नेपाल छिर्नेलाई सीमाका सुरक्षाकर्मीले सामान्य सोधपुछबाहेक स्वास्थ्य सचेतनाका काम गर्न सकेका छैनन् । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्