Logo

‘डिजाइन काठमाडौंँ कन्टेष्ट’ हुँदै



काठमाडौंँ, १० चैत: नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)सँगको सहकार्यमा रिभोसाइन्स मिडियाले कक्षा १०, ११ र १२ का विद्यार्थीका लागि ‘डिजाइन काठमाडौंँ कन्टेष्ट’ आयोजना गर्ने भएको छ । नेपालभरबाट अनलाइन माध्यमबाट सहभागी हुन पाइने बौद्धिक क्षमता प्रतिस्पर्धामा आगामी वैशाख २० गतेसम्म सहभागीले निःशुल्क रुपमा आवदेन दिन सक्नेछन् । प्रतिस्पर्धीले ‘डिजाइन काठमाडौंँ कन्टेष्ट’ मा एकल वा समूहगत रुपमा प्रतिस्पर्धामा भाग लिन पाउने र सहभागीले शिक्षकलाई दिशानिर्देशकका रुपमा राख्न पाउने रिभोसाइन्स मिडियाका लक्ष्मण डङ्गोलले बताए ।

डङ्गोलका अनुसार काल्पनिकरुपमा विद्यार्थीले कम्तीमा बीस पानामा शहरको परिकल्पना बनाउन सक्नेछन् । प्रतिस्पर्धीले आफ्ना परिकल्पनामा काठमाडौँ उपत्यकाको डिजाइन, भूगोल, वास्तुकला, समाज र सभ्यता, विज्ञानप्रविधि र संस्कृति, वातावरण र वन्यजन्तु, नीति तथा योजना, सम्पदा क्षेत्र र संरक्षणका उपाय, अनुसन्धान तथा विकास र नवप्रवत्र्तन, धर्म र शिक्षा प्रणाली, सडक सञ्जाल र स्मार्ट प्रविधि, विज्ञान पार्क र कबर्ड हल, व्यावसायिक केन्द्र, कला तथा मनोरञ्जन, अर्थ व्यवस्थापन जस्ता उपशीर्षक समेटेर लिखित ढाँचा प्रस्तुत गर्नुपर्ने हुन्छ ।

विद्यार्थीले आवेदन दिने प्रक्रिया ‘डिजाइन काठमाडौँ कन्टेष्ट’ को वेबसाइटमा समावेश गरिएको छ । सहभागीले सोध्न सक्ने सम्भावित प्रश्न, डिजाइन तयार पार्नुपूर्व चाहिने आवश्यक खुराक वेबसाइटबाट डाउनलोड तथा अध्ययन गर्न मिल्ने आयोजक रिभोसाइन्स मिडियाले जनाएको छ ।

आयोजकका अनुसार यसबाट विद्यार्थीको सिर्जना प्रस्फुटन तथा शहर विकासका लागि चाहिने आवश्यक विषयवस्तुमा उनीहरुको बुझाइ थप मजबुत हुनेछ । यसरी परिकल्पना गर्दा उनीहरुको बौद्धिक विकास तथा विविध शोधसामग्री अध्ययन तथा शोध गर्ने क्षमता अभिवृद्धि हुने जनाइएको छ । बौद्धिक प्रतिस्पर्धीमा विजयीले रु दश हजार, रु पाँच हजार र रु दुई हजार पुरस्कार पाउनेछन् ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्