Logo

लकडाउनको एक वर्ष, कोरोना सङ्क्रमणको चुनौती यथावत्



काठमाडौं, चैत ११। कोरोना सङ्क्रमणका कारण नेपालले बन्दाबन्दी (लकडाउन) गरेको एक वर्ष पुगेको छ । गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरस नियन्त्रण गर्न भन्दै लकडाउन गरिएको थियो । पटकपटक गरी चार महिनाभन्दा बढी समय लकडाउन कायम रहेको थियो । अन्य देशमा लकडाउनलाई खुकुलो बनाएसंँगै भदौबाट मात्र नेपालमा केही सहज अवस्था भएको हो ।

लकडाउन गरेको वर्ष दिन बित्न नपाउँदै नेपालमा कोरोनाको दोस्रो लहर आएको अनुमान लगाउन थालिएको छ । दैनिक ५०÷५५ जना सीमित सङ्क्रमित ह्वात्तै बढेर १८८ जनासम्म पुगेको छ । मङ्गलबार मात्र १८८ जना नयाँ सङ्क्रमित थपिएका छन् । केही दिन पहिलेसम्म यो सङ्ख्या सयभन्दा कम सङ्ख्यामा थियो । यसबाट नेपालमा सङ्क्रमण बढ्न सक्ने देखाएको छ ।

केही दिनयता भारतका केही प्रान्तमा हालसम्मकै धेरै सङ्ख्यामा कोरोना सङ्क्रमित बढ्न थालेपछि नेपालमा केही सतर्कता अपनाइएको छ । भारतसँगको खुला सिमाना भएका कारण पनि नेपालमा कोरोना सङ्क्रमणको उच्च जोखिम छ । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले अस्पतालमा केही दिनअघिसम्म एक÷दुई जना मात्र कोरोना सङ्क्रमितका बिरामी हुने गरेकोमा हाल सात जना भर्ना भइसकेको जानकारी दिए । सात जनामध्ये पाँच जना आईसीयू तथा दुई जना आइसोलेसन वार्डमा उपचाररत छन् ।

सातदेखि १० प्रतिशत रहेका सङ्क्रमित मङ्गलबारसम्म आइपुग्दा २० प्रतिशतमा वृद्धि भएको जानकारी दिँदै डा राजभण्डारीले पछिल्लो समय मानिसले कोरोनालाई बेवास्ता गर्न थालेको बताउनुभयो । सार्वजनिक यातायातमा सडकमा हिँड्ने सबैले मास्क प्रयोग गर्न छोडेको जानकारी दिँदै उनले कोरोनालाई बेवास्ता गरे यसको दोस्रो वेभ पहिलेको भन्दा खतरा हुनसक्ने बताए ।

सभा, सम्मेलन, धर्ना, जुलुस, जमघटजस्ता कार्य गर्न बन्द गर्नुपर्ने बताउँदै निर्देशक डा राजभण्डारीले नागरिक आफैँ सचेत बन्नुपर्नेमा जोड दिए। सबैले आ–आफ्नो ठाउँबाट लाग्न सके कोरोनालाई परास्त गर्न सकिने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्