Logo

ओली सरकारलाई बाँकी दुई वर्ष निरन्तरता दिनका लागि पार्टी एकताबद्ध हुनुपर्छ : रिजाल



काठमाडौं, ११ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता विष्णु रिजालले कसैले पनि माधव नेपालबिनाको एमाले कल्पना गर्दछ भने त्यो एकीकृत नभई विभाजित मात्र हुने टिप्पणी गरेका छन् । आज विहान सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रिजालले यस्तो बताएका हुन् ।

उनले २०३१ मा कोअर्डिनेशन केन्द्र स्थापना गर्दै २०३५ मालेका रुपमा क.आ. पुनर्गठन गर्ने र २०४७ मा एमाले निर्माण गरेर नेतृत्व गर्ने प्रमुख हस्तीका रुपमा माधव कुमार नेपाल रहेको र नेता नेपाल  एमाले धाराको प्रमुख नेता स्थापित रहेको स्पष्ट पारेका छन् । उनले अघि भनेका छन्,‘कसैले माधव नेपालविनाको एमाले कल्पना गर्दछ भने त्यो एकीकृत होइन, विभाजित मात्र हुन्छ।’

उनले लेखेका छन्–

१. ०३१मा कोके स्थापना गर्दै ०३५ मालेका रुपमा क.आ. पुनर्गठन गर्ने र ०४७ मा एमाले निर्माण गरेर नेतृत्व गर्ने प्रमुख हस्तीका रुपमा@ncp_madhavnepal एमाले धाराको प्रमुख नेता स्थापित हुनुहुन्छ ।त्यसैले कसैले उहॉविनाको एमाले कल्पना गर्दछ भने त्यो एकीकृत होइन, विभाजित मात्र हुन्छ।

२. पार्टीका संस्थापक, सहयात्री र अगुवा नेताहरुलाई निष्काशन गरेर र मन्त्री खानका लागि सिद्धान्त र सांसद नै ‘त्याग’गर्नेहरुलाई साथमा लिएर बलियो एमाले बन्छ भनेर कसैले सोच्छ भने भन्नु केही छैन।यसले एमालेलाई विभाजित गर्दछ र हालका नेताहरुको नेतृत्वमा क्षतिपूर्ति गर्न सम्भव छैन।

३. तत्कालीन नेकपाका बेलामा प्रधानमन्त्रीले पार्टीलाई थाहै नदिई प्रतिनिधिसभा विघटन गरेको र सडक आन्दोलन चलेको बेला भएका घटनाक्रमहरुलाई लिएर एमालेमा कारवाही अघि बढाउनु पार्टी फुटको घोषणा हो । तसर्थ, स्पष्टीकरणको जवाफ प्राप्त भएपछि यसलाई एक दुःखद अध्यायका रुपमा यही समाप्त गर्नुपर्छ।

४. एमालेको एकता बचाउन विधान विपरीतका सम्पूर्ण क्रियाकलापहरु बन्द गर्नुपर्छ।फागुन २३ को सर्वोच्चको फैसलाबमोजिम पुनर्स्थापित एमालेको केन्द्रीय कमिटीको बैठक बस्नुपर्छ र बाधा अड्काउ फुकाऊ, जिम्मेवारी हेरफेर, कमिटीमा थपघट जस्ता जेजे निर्णय गर्नुपर्ने हो, त्यही बैठकबाट गर्नुपर्छ।

५. अध्यक्ष केपी ओलीको नेतृत्वमा रहेको नेकपा (एमाले) को सरकारलाई बाँकी दुई बर्ष निरन्तरता दिनका लागि पार्टी एकताबद्ध हुनुपर्छ र अरु पार्टीसँग वार्ता गरेर बहुमत सुनिश्चित गर्नुपर्छ ।

६. हरहालतमा नेकपा (एमाले) को एकतालाई बचाउनुपर्छ । यसका लागि नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित नीति, विधान र नेतृत्वलाई आधार बनाएर अघि बढ्नुपर्छ र दशौँ राष्ट्रिय महाधिवेशनको तयारीमा लाग्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्