Logo

स्थानीय ठाउँको पहिचान दिने गरी कक्षको नामकरण



कावासोती, १२ चैत: हुप्सेकोट गाउँपालिकाको कार्यालय प्रवेश गर्ने वित्तिकै भवनको तल्लो तलाको एउटा कोठाको ढोकामाथि ‘जारेभञ्ज्या’ कक्ष लेखेको देखिन्छ । छेउको अर्को कोठामाथि ‘शान्तिबाटिका’ कक्ष लेखिएको छ । शुरुमा यहाँ आँखा पुग्नेलाई के लेखेको हो भन्ने मनमा लाग्न सक्छ । नाम सुनेकाले यो यहीँको ठाउँ भन्ने बुझ्लान, नामै नसुनेकाहरुलाई के रहेछ, कहाँ रहेछ भन्ने मनमा खुलदुली लाग्न सक्छ ।

यति मात्रै होइन, भवनको दोस्रो तलमा चढ्ने बेलामा भ¥याङ छेउको भित्तामा ‘श्रीपोखर कक्ष’, ‘धौवादी कक्ष’, ‘रुद्रपुरगढी कक्ष’, ‘लालीगुराँस कक्ष’, ‘मौलाथर कक्ष’ र ‘राम्चे कक्ष’ लेखिएको देखिन्छ । यसले हुप्सेकोट गाउँपालिकाभित्रको ठाउँको नाम रहेछ भन्ने अनुमान धेरैले लगाउँछन् । सँगै त्यहाँ ऐतिहासिक गढी र लालीगुराँस फुल्ने ठाउँ रहेछ भन्नेसमेत अनुमान लगाउँछन् । हुप्सेकोट गाउँपालिकाले गाउँपालिकाभित्रका प्रत्येक कोठालाई स्थानीय पहिचान दिएको छ ।

पछिल्लो समय पुराना बस्ती र ठाउँका नाम मेटिदै जान थालेका छन् । केही व्यक्ति समूहले आफूखुशी विभिन्न नाम राख्ने गरेका छन् । यति मात्रै होइन आफ्नै परिवारसँग जोडेरसमेत नयाँनयाँ नामाकरण गरिरहेका हुन्छन् । यसले पुरानो अस्तित्व समाप्त पार्दै गएको भन्दै कतिपयले चिन्ता व्यक्त गर्ने गरेका छन् ।

पुराना मौलिक नाम हराउँदै जाने होकी भन्ने चिन्ता बढेको छ । यसैले नवलपुरको हुप्सेकोट गाउँपालिकाले भने यहाँका मौलिक नामको पहिचान दिने गरी कक्षाको नामकरण गरेको छ । गाउँपालिकाभित्र पनि पुराना ऐतिहासिक बस्तीको पहिचान नमेटियोस् र यहाँ रहेका पर्यटकीय क्षेत्रको प्रवद्र्धन होस् भनेर गाउँपालिकाभित्रका हरेक कक्षको स्थानीय पहिचान दिइएको गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले बताए ।

“हामी कहाँ धेरै पुराना बस्ती छन्, पर्यटकीय ठाउँ छन्, त्यहाँ आउनेहरुले थाहा पाउन र ती ठाउँको पहिचान नमेटियोस् भनेर कक्षाहरुको नामाकरण गरेका हौं”, उनले भने, “त्यहाँका स्थानीयवासीलाई गाउँपालिका आउँदा आफ्नो ठाउँको नाम देख्दा अपनत्व होस् र बाहिरबाट आउनेहरुले जानकारी पाउन भन्ने पनि होे ।” गाउँपालिकाको दोस्रो तलामा चढ्ने बित्तिकै उपाध्यक्ष स्वतन्त्र कोपिला मल्ल रहने धौवादी कक्ष देखिन्छ । लगत्तै राम्चे कक्ष, अध्यक्ष रहने श्रीपोखरी कक्षसहित क्रमशः मौलाथर कक्ष, रुद्रपुरगढी कक्ष र लालीगुराँस कक्ष रहेका छन् ।

हरेक कोठाको अलग–अलग पहिचना दिँदा पुराना बस्तीको पहिचानसहित त्यहाँ रहेका पर्यटीय क्षेत्रको प्रवद्र्धनमासमेत सहयोग पुगेको छ ।रासस



प्रतिक्रिया दिनुहोस्