काठमाडौं, १२ चैध । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ थारु कल्याणकारी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समितिले अघि सारेका मागप्रति सरकार सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । आज माईतीघर मण्डलामा आयोजित धर्ना कार्यक्रममा सरिक हुँदै गृहमन्त्री थापाले यस्तो बताएका हुन् । उनले वार्ता तथा सम्वादबाट नै समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका छन् । उनले माग पूरा गराउनको लागि सरकार सकारात्मक रहेको भन्दै त्यसको लागि वार्ता टोली गठन गरेर अघि बढ्ने र समस्याको समाधान पनि छिट्टै हुने विश्वास दिलाए ।

उनले धर्ना कार्यक्रममा सहभागी हुँदै सडकमा पलेटी कसेर माईकमार्फत सम्बोधन गरेका हुन् । उनले सम्बोधनको क्रममा भने,‘सरकारको तर्फबाट म यहाँ उपस्थित छु । तपाईंहरुको समस्या समाधान गर्न सरकारले अब छिट्टै वार्ता टोली गठन गर्छ । तपाईंहरुले पनि धर्ना छाडेर वार्ता टोली गठन गर्नुस् । हामी आज नै वार्ता टोली गठन गर्छौं । वार्ता र संवादबाट यसलाई हल गरौँ ।’ धर्ना कार्यक्रमलाई रुक्मिणी थारुलगायतले सम्बोधन गरेका थिए ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम




प्रतिक्रिया