Logo

स्वास्थ्य बीमालाई बीमा समितिको नियमनमा लैजाने प्रस्ताव



काठमाडौं, चैत १३ । हाल सरकारले सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रमलाई बीमा समिति (प्रस्तावित बीमा प्राधिकरण) को नियमनमा लैजाने प्रस्ताव गरिएको छ । सरकारले स्वास्थ्य बीमा बोर्ड नै स्थापना गरेर केही वर्ष अघिदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । अब भने त्यसलाई बीमा समितिको नियमन सञ्चालन गरिने गरि संसद्मा विचाराधीन बीमा विधेयकमा प्रस्ताव गरिएको छ ।

बीमा विधेयकमाथि बुधवार र बिहीवार संघीय संसद्को अर्थ समितिमा पुनः दफावार छलफल भएको थियो । उक्त क्रममा विधेयकमा एक परिच्छेद नै थप गरेर स्वास्थ्य बीमा कार्यक्रमलाई बीमा समितिको नियमनमा राख्ने परिकल्पना गरिएको हो । अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले स्वास्थ्य बीमा कार्यक्रमलाई बीमा समिति (प्रस्तावित बीमा प्राधिकरण) कै नियमनमा लैजाने गरी परिकल्पना गरिएको बताए ।

बीमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको उक्त विधेयकमाथि यसअघि पनि अर्थ समितिमा दफावार छलफल भएको थियो । बीचमा संसद् विघटन भएर पुनःस्थापित भएपछि विधेयक माथि पुनः दफावार छलफल गरिएको हो । यो बीमा विधेयक २०७५ सालमा संसद्मा दर्ता भएको हो ।

विधेयकमा बीमाक्षेत्रको हालको नियमनकारी संस्था बीमा समितिलाई बीमा प्राधिकरण बनाउन प्रस्ताव गरिएको छ । विधेयक पारित भएर ऐनका रूपमा लागू भएमा स्वास्थ्य बीमा कार्यक्रमलाई सोही प्राधिकरणले नै नियमन गर्ने गरी नीतिगत रूपमा बाटो खुला गरिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्