Logo

दर्जन अवसर गुमाएपछि नेपाल किर्गिस्तानसँग रोकियो



काठमाडौं, चैत १३ । घरेलु टोली नेपाल थ्री नेसन्स कपको आफ्नो पहिलो खेलमा १० खेलाडीमा समेटिएको किर्गिस्तानको यू–२३ टोलीसँग गोलरहित बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा घरेलु टोली नेपालले दर्जन बढी अवसर गुमाउँदा १० खेलाडीमा समेटिएको किर्गिस्तानसँग गोलरहित बराबरीमा रोकिन बाध्य बनेको हो ।

खेलको सुरुवातदेखि नै किर्गिस्तानलाई दबाबमा राखेको नेपालले खेलको चौथो मिनेटमा आक्रमण बुनेको थियो । तेज तामाङको फ्रिकिकमा अन्जन विष्टको फ्रि हेडर पोस्टनजिकैबाट बाहिरिँदा नेपाल अग्रता लिनबाट चुक्यो । नवौं मिनेटमा त्रिदेव गुरुङको कर्नरमा फ्लिक भएको हेडरलाई दिनेश राजवंशीले मौका पाए पनि प्रहार गर्न सकेन ।

१०औं मिनेटमा त्रिदेव गुरुङको कर्नरमा अनन्त तामाङको हेडर बाहिरिँदा नेपालले अग्रता लिन सकेन । १४औं मिनेटमा अञ्जन विष्टको क्रस पोस्टमा लागेर फर्कंदा डिफेन्डरले क्लियर गर्दै बचाउँदा नेपाल पुनः अग्रता लिनबाट चुक्यो । २९औं मिनेटमा अभिषेक रिजालले पेनाल्टी बक्सनजिकै अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । ३३औं मिनेटमा रवि पासवानको क्रसमा अञ्जन विष्टले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

अब नेपालले लिगको अन्तिम खेलमा बंगलादेशसँग बराबरीमा रोकिए पनि फाइनल पुग्न पर्याप्त हुनेछ । किर्गिस्तान फाइनल पुग्न नेपाल बंगलादेशसँग पराजित हुनुपर्नेछ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्