Logo

पानीबाट प्राप्त गर्न सकिन्छ समृद्धि



काठमाडौंं, चैत १३। समृद्धि र सम्भावनाको खानीका रूपमा रहेको जलस्रोतको राम्रो उपयोग गर्न नेपाल सरकारले तयारी थालेको छ । उपयोगका अथाह क्षेत्र रहेकाले ती सम्भावनालाई यथार्थमा बदल्ने कार्यदिशामा सरकार अगाडि बढेको हो ।

नेपालका नदी नालाबाट वार्षिक करिब २२५ अर्ब घनमिटर पानी उपलब्ध हुने गर्छ । यसमध्ये करिब १२ अर्ब घनमिटर पानी भूमिगत जलस्रोतका रूपमा पुनर्भरण हुने गर्छ । जलस्रोत नीतिले नेपालमा विद्यमान तथा सीमा क्षेत्रमा रहेका नदीनालाको समेत राष्ट्रिय हितअनुरूप उपयोग गर्ने योजना सरकारले बनाएको छ । अथाह पानीको भण्डारलाई बहुआयामिक उपयोगमा बदलेर देशले विश्वमा समृद्धि र आर्थिक वृद्धिको उचाइ हासिल गर्न सक्ने राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओली बताउन्छन् ।

उनका अनुसार नेपालमा उपलब्ध भूमिगत, सतह र हिउँमुनिको पानीका मुख्य स्रोत छन् । तराईमा सबैभन्दा बढी भूमिगत पानीको स्रोत छ । रिचार्ज क्षेत्र छाडेर भूमिगत जलको उपयोग गर्न सके तराईमा खानेपानीको उपभोग र अधिकांश कृषि फाँटलाई हराभरा बनाउन सकिन्छ ।

जलस्रोत तथा ऊर्जा आयोगले गरेको एक अध्ययन अनुसार नेपालका झण्डै छ हजार नदीनाला छन् । यी नदीनालामध्ये ७४ प्रतिशत नेपाली भूभाग ओगट्ने गर्छ । नेपालमा निरन्तर हिउँ पर्ने क्षेत्रमध्ये पाँच हजार मिटरमाथिका २३ प्रतिशत भूभाग रहेको छ । त्यस्तै तीन हजार २५२ हिमनदीका स्रोत छन् । नेपालमा दुई हजार ३२३ वटा हिमताल रहेका छन् । तिनले ७५ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ ।

बढ्दो तापक्रम र जलवायु परिवर्तनको असरका कारण केही क्षेत्रमा पानीको स्रोत घट्दै गएको छ । हिमाली भेगका हिमनदी साँघुरिँदै गएको छ । तल्लो तटीय क्षेत्रमा सुक्खा पर्दै गएको छ । हिमाल पग्लेर बनेको हिम तालको आयतन बढ्दैछ । जसको प्रभावले समुद्रमा बढेको जल सतह र बढ्दो वाष्पीकरण सीधै नेपाल र हिमालमा ठक्कर खाँदा नेपालमा भविष्यमा अतिवृष्टि र अनावृष्टि हुने सम्भावना बढी छ ।

यी सबै समस्यालाई टेकेर तिनलाई अवसरमा बदल्न सके नेपालको पानी सम्भावनाको खानीका रूपमा परिणत हुनेछ । बाँध बाँधेर पानी सङ्कलन गरी दीर्घकालीन उपयोग गर्न सकिने आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्