Logo

तत्काल लकडाउन नहुने



काठमाडौं, चैत १३ । भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्ने र लकडाउन हुनेसक्ने हल्ला चलिरहेका बेला तत्काल लकडाउन नहुने प्रशासनले जनाएको छ। कोरोना संक्रमण नियन्त्रण गर्न थप सतर्कता अपनाइए पनि लकडाउन नै गर्ने तयारी नभएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको हो।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले तत्काल लकडाउन नगरिने बताए। ‘अहिले लकडाउन हुँदैन, बरु भीडभाड कम गर्ने र सतर्कता अपनाउनेतर्फ हामीले चासो दिनुपर्छ,’ उनले भने, ‘सर्वसाधारण आफै होसियार हुने हो भने प्रशासनलाई सहज हुन्छ।’ उनका अनुसार भारतमा कोरोना संक्रमितको संख्या बढेपनि ओहोरदोहोर भने निर्वाध भइरहेको छ।

ओहोरदोहोर कडाइ गर्ने र स्वास्थ्य मापदण्ड पालना गरेमा संक्रमण थप नफैलिने उनको भनाइ छ। ‘संक्रमण दर बढ्यो र थाम्न नसक्ने अवस्था पुगेमा मात्रै लकडाउन वा अन्य तयारी गर्नुपर्ने हुन्छ,’ प्रजिअ पराजुलीले भने, ‘लकडाउन नगर्नका लागि सबै सावधान हुन आवश्यक छ।’ उनले कोरोना संक्रमण दर बढ्ने देखिएपछि ठूलो संख्यामा भेला हुने कार्यक्रमहरू नगर्न मौखिक निर्देशन दिएको जानकारी दिए।

कोरोना संक्रमण बढ्ने सम्भावना देखिएपछि उपत्यकाका तीनवटै प्रजिअबीच पूर्वतयारीको सम्बन्धमा बुधबार र बिहिबार छलफल भएको थियो। छलफलका क्रममा तत्काल लकडाउन नगर्ने निर्णय भएको छ। उपत्यकामा संक्रमण बढे थप कडाई र लकडाउन समेत गरिने प्रशासनले जनाएको छ। स्वास्थ्य मन्त्रालयले पनि कोरोना संक्रमण दर बढे लकडाउन गर्न प्रशासनलाई सुझाव दिएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्