Logo

एमाले संसदीय दलको बैठक सम्पन्न, गुटगत रुपमा आए कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी



काठमाडौं, १३ चैत्र । नेकपा (एमाले) को संसदीय दलको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले गुट बनाएर आउने नेता तथा सांसदहरुलाई अब कुनै ठाउँ नदिने चेतावनी दिएका छन् ।  बैठक सम्पन्न भएलगत्तै मिडियाकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक विशाल भट्टराईले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले अब गुट बनाएर आउनेलाई पार्टीमा ठाउँ नभएको कुरा बताएका थिए ।

प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भट्टराईले भने,‘अब भागबण्डाको राजनीतिक मलाई स्विकार्य छैन् । वान टु वान आउनुहोस् । योग्यता र क्षमताअनुसार काम दिन्छु । यो फलानो नेताको समूह, त्यो फलानो समूहको नेता भन्दै गुट बनाएर आउन खोज्नुभयो भने भन्ने अब पार्टीमा ठाउँ हुँदैन्, च्याप्टर क्लोज । समूह बनाएर आउनेलाई स्पेश दिईँदैन् ।’

प्रधानमन्त्री ओलीले चैत्र ५ गते र चैत्र ७ गते बसेको संसदीय दलको बैठकबाट अब ब्याक हुन नसक्ने कुरा पनि राखेको उनले सुनाए । संसदीय दलको विधानमा पनि तलमाथि गर्न नसकिने कुरा प्रष्ट रुपमा गरेको पनि उनले सुनाए ।  प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै उनले भने,‘अब नेकपा एमालेमा हामी समूहगत रुपमा कसैसँगपनि डिलिङ गर्दैनौं । नेकपा एमालेमा कुनै गुट वा समूहको अस्तित्व छैन् । व्यक्तिगत रुपमा प्रत्येकका आलोचना र गुनासो सुन्न तयार छौं । दलका नेतालाई भन्नुहोस्, सचेतकलाई भन्नुहोस, तर गुटगत रुपमा कुनै भेला वा छलफल गरिँदैन् ।’ आजको बैठकमा सांसदहरुलाई क्षमता अभिवृद्धिको लागि पनि ध्यान दिईने कुरा प्रधानमन्त्री ओलीले भनेको पनि उनले सुनाए । File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्