Logo

एक्कासि प्रदूषणले ढाक्यो



काठमाडौं, चैत १४ । वायु प्रदूषणको मात्रा शुक्रबार दिउँसो एक्कासि चढेपछि मुलुकका मुख्य सहरमा जनजीवन प्रभावित बन्न पुगेको छ । मुलुकभर वन डढेलोका कारण वायु प्रदूषण बढेपछि जनजीवन प्रभावित भएको हो ।

शुक्रबार दिउँसो एक्कासि वायु प्रदूषणका कारण आँखा पोलेको सबैले महसुस गरेका थिए । उपत्यकावासीले धुवाँ र धुलो मिसिएको हावाले भिजिबिलिटी कम भयो । धुवाँ र धुलो मिसिएको हावाले वायुमण्डल ढपक्कै भएको थियो ।

दिउँसो ३ बजेपछि त काठमाडौंको भिजिबिलिटी यति कम भयो कि त्रिभुवन विमानस्थलमा जहाज अवतरण र उडान हुनै नसक्ने भयो । साढे १२ बजेसम्म काठमाडौं एयरपोर्टमा भिजिबिलिटी ३ हजार ५ सय मिटर थियो तर ३ बज्दा त्यो १ हजार मिटरमा झरिसकेको थियो ।

स्विट्जरल्यान्डको आईक्यूएआइआरका अनुसार शुक्रबार अपराह्न काठमाडौंको एयर क्वालिटी इन्डेक्स १९८ थियो । जसका अनुसार शुक्रबार काठमाडौं संसारका प्रदूषित हावा भएका सहरमध्ये पहिलो स्थानमा पुग्यो । काठमाडौंपछि चीनको राजधानी बेइजिङ ९१८८० र भारतीय सहर मुम्बईको एयर क्वालिटी इन्डेक्स १७४ पुगेको थियो । काठमाडौंको स्टेसनले कम देखाए पनि भक्तपुर, कीर्तिपुर र ललितपुरको भैंसेपाटीमा भने प्रदूषण झन् धेरै देखिए ।

वातावरण विभागको तथ्यांकअनुसार शुक्रबार दिउँसो भैंसेपाटीमा इन्डेक्स ४ सय ४३, कीर्तिपुरमा २ सय २१ र भक्तपुरमा २ सय २० थियो । एक्यूआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १ सयसम्मलाई मोडरेट मानिन्छ । एक्यूआई १ सय ५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ । २ सयसम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ । एक्यूआई ३ सय पुग्नु भनेको जोखिमपूर्ण हो । ३ सयभन्दा माथि जानुचाहिँ घातक हो । काठमाडौंको हावामा शुक्रबार धुलोसँगै धुवा पनि मिसिएको छ ।

‘वायुमण्डलमा धुलोसँगै धुवाँ पनि मिसिएको देखिएको छ । धुवाँ धेरै मिसिएकाले आँखा पोल्ने समस्या भएको हो,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले भने । काठमाडौंको हावामा यति धेरै धुवाँ कहाँबाट आयो भन्ने खुलिनसकेको उनले बताए । पूर्वसचिव तथा मौसमविद् ऋषिराम शर्माले देशका विभिन्न भागमा भएको आगलागीको असर काठमाडौंमा परेको हुन सक्ने बताए ।

गृह मन्त्रालयका अनुसार पछिल्लो साता देशका विभिन्न १ सय १० भागमा आगलागी भएको छ । ‘यो सिजन नै आगलागीको हो । अहिले काठमाडौं आसपासका क्षेत्रमा धेरै आगो लागेको छ । त्यही भएर यहाँको हावामा धेरै धुवाँको मिसिएको देखिन्छ,’ शर्माले भने, ‘वायुमण्डलको माथिल्लो तह न्यानो भइराखेकाले हावा सतहको वायुमण्डलमै रहेको छ ।’

चारैतिर घेरिएको काठमाडौं उपत्यकाको भूबनोटले इन्भर्सन लेयर बन्न सजिलो हुन्छ । ‘सामान्यतः बिहान भएपछि सतहको हावा तात्दै जाने र माथि चिसो हुने हुन्छ,’ उनले भने, ‘तर कहिलेकाहीँ इन्भर्सन लेयर बनेर माथिको हावा न्यानै रहेपछि तलबाट हावा माथि जान सक्दैन । आज ९शुक्रबार० पनि त्यस्तै भएको हो ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्