Logo

माधव नेपाल पक्षधर बहुमत केन्द्रीय सदस्यहरु ओलीको पक्षमा !



काठमाडौं, १४ चैत्र । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर केन्द्रीय सदस्यहरुको बैठक जारी छ । काठमाडौंको कालिमाटीको एक ब्यांक्वेटमा जारी बैठकमा अब कसरी अघि बढ्ने भन्नेबारे छलफल भैरहेको छ । बैठकमा आज बहुमत सदस्यहरुले अब प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर नै अघि बढ्नुपर्ने पक्षमा उभिएको स्रोतको दाबी छ ।

हिजोको संसदीय दलको बैठकमा नेपाल पक्षधर सांसदहरुको पनि उपस्थिति थियो । संसदीय दलको बैठकमा नेपाल पक्ष सहभागी भएपछि ओली पक्ष झनै आक्रामक बनेको छ । र, नेपाल पक्ष बरु रक्षात्मक बनेको छ । संसदीय दलको बैठकमा नेपाल पक्षका सांसदहरु झलनाथ खनाल, योगेश कुमार भट्टराई, गोकर्ण विष्ट र घनश्याम भुषालले बोलेका थिए ।

उनीहरुले पार्टी एकतालाई बचाउनुपर्ने र त्यसको लागि अध्यक्ष ओलीले नै गम्भीर रुपमा पहलकदमी लिनुपर्ने धारणा राखेका थिए । उनीहरु आफूहरु एमालेको एकताको पक्षमा रहेको बताउँदै सोहीअनुसार नेतृत्व पनि अघि बढ्नुपर्ने बताएका थिए ।

आजको कालिमाटीको जारी बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले अब प्रधानमन्त्री ओलीसँग मिलेर नै जानुपर्ने धारणा राखेका थिए । नेता नेपाल आजको बैठकबाट दबाबमा परेको स्रोतको दाबी छ । प्रधानमन्त्री ओलीले पनि नेता नेपाल र भीम रावललाई कारबाही गर्ने तयारी गरेका छन् । यस्तो अवस्थामा नेपाल पक्षका केही सांसदहरुले ओलीसँग वान टु वान कुरा गर्न सुझाएका छन् । File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्