Logo

अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अपिल



काठमाडौं, १५ चैत्र । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि मौसममा आएको परिवर्तनसँग काठमाडौं उपत्यकाभित्रको वायु प्रदूषण बढेकाले अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन सबैलाई अपिल गरेको छ । वायु प्रदूषणले स्वास्थ्यमा विविध स्वास्थ्य समस्या देखा पर्न सक्ने भएकोले अत्यावश्यक कामवाहेक घर बाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए मास्कको प्रयोग गर्न गर्न र शरीर पूरै ढाकिने गरी लुगा लगाएर मात्र निस्कन मन्त्रालयले आह्वान गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले वायु प्रदूषणले मानव स्वास्थ्यमा तत्कालीन र दीर्घकालीन गम्भीर असर पर्न सक्ने सम्भावना रहेको जानकारी दिनुभयो । प्रदूषणले आँखा चिलाउने र पोल्ने, छाला चिलाउने, श्वासप्रश्वासमा गाह्रो हुने समस्या बृद्धि भएको छ । साथै दीर्घकालीनरुपमा मुटु र फोक्सोको समस्या बढ्ने, स्नायु प्रणालीमा असर पर्ने बालबालिकाको वृद्धिविकासमा असर गर्ने र क्यान्सरको समस्या हुने उनले बताए ।

प्रदूषणबाट बच्नका लागि सावधानी अपनाउन आग्रह गर्दै उनले भने, “प्रदूषित वातारण थप बढ्न नदिन जिम्मेवार निकाय र व्यक्तिले गर्नुपर्ने भुमिका महत्वपूर्ण छ । यस्तो बेला अनावश्यक गाडी प्रयोग नगर्ने, बैकल्पिक ऊर्जाको प्रयोग बढाउने, प्रदूषण कम हुने अन्य बैकल्पिक उपाय अपनाउने, विकास निर्माणका काममा धुलो कम हुने उपाय अवम्बन गर्ने । त्यसो गर्ने सके बस्न योग्य वातावरण हुनेछ ।”

प्रतिकूल मौसमका कारण तीन दिनदेखि काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक तथा अन्तरराष्ट्रिय दुवैतर्फका उडान प्रभावित भएका छन् । मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एक मात्र अन्तरराष्ट्रिय विमानस्थलबाट दर्जनौ उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

यही चैत १३ गते शुक्रबार मध्याह्नपछि काठमाडौँ उपत्यकालगायत आसपासका क्षेत्रको वायुमण्डल बाक्लो तुवाँलोले ढाकेपछि अन्तरराष्ट्रिय विमानस्थलको उडान प्रभावित बनेको थियो । विमानस्थलमा तीन दिनदेखि यान्त्रिक पद्धत्ति (आइएफआर) बाट मात्रै उडान भएको छ ।

बिहीबार करीब दुई घण्टा उडान प्रभावित भएको थियो । अपराह्नपछि आइएफआर उडान खुलेको थियो । उक्त दिन आन्तरिकतर्फ २२ र अन्तरराष्ट्रियतर्फ केही उडान स्थगित भएका थिए । शनिबार पनि अधिकांश उडान प्रभावित भए । धेरै एयरलाइन्सले मुख्य गन्तव्यका उडान रद्द गरेका थिए । आइतबार अन्तरराष्ट्रियतर्फ उडान सामान्य छ ।

आन्तरिकतर्फ भने कतिपय गन्तव्यमा उडान हुन सकेको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का उपमहानिर्देशक राजकुमार क्षेत्रीले अन्तरराष्ट्रिय उडान सञ्चालनमा रहे पनि आन्तरिक उडान सामान्य प्रभावित भएको जानकारी दिए । रात्रिकालीन उडानयोग्य नभएका सिमरा, भरतपुर र जनकपुरलगायत विमानस्थलको उडान भएको छैन ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ हवाइसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । अन्तरराष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायकले उडान भर्दै आएकामा अहिले कोभिड–१९ महामारीपछि १९ वायुसेवा कम्पनीले उडान सञ्चालन गरिरहेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्