Logo

प्रधानमन्त्री–सभामुख तोडियो संवादहीनता



काठमाडौं, चैत १६ । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच लामो समयदेखिको संवादहीनता तोडिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेट भएको होे। दुई घण्टाभन्दा बढी घनीभूत संवाद भएको जनाइएको छ।

सभामुखका सञ्चारविज्ञ श्रीधर न्यौपानेले यो भेटवार्ताका कारण संसद्मा लागेको ‘तुवाँलो’ फाट्ने विश्वास व्यक्त गरे। ‘संसद्लाई प्रभावकारी, जीवन्त र जनमुखी बनाउने, समग्र संसदीय गतिविधि र संसद्मा विचाराधीन महत्वपूर्ण विधेयकबारे छलफल भयो’, सञ्चारविज्ञ न्यौपानेले भने। सभामुखले सर्वदलीय बैठक बोलाउने विषयमा पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए।

यसअघि कार्यपालिका र व्यवस्थापिका प्रमुखबीच लामो समयदेखि तिक्तता रहँदै आएको थियो। जसका कारण संसद्ले गति लिन सकेको छैन। भदौ दोस्रो सातायता ‘वान टु वान’ कुराकानीसमेत हुन सकेको थिएन। तत्कालीन नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहालबीचको मतभेदले व्यवस्थापिकासम्म प्रभावित भएको थियो। सभामुख सापकोटा दाहालको निर्देशनमा चलेको आरोप प्रधानमन्त्री ओलीले लगाउँदै आएका छन्।

संवैधानिक परिषद्को मंसिरमा बसेको बैठकदेखि प्रधानमन्त्री र सभामुखबीचको सम्बन्ध थप चिसिएको थियो। पुस ५ मा प्रतिनिधिसभा विघटन गर्दा झनै दूरी बढेको थियो। अन्नपूर्ण पोस्ट् दैनिकबाट



प्रतिक्रिया दिनुहोस्