Logo

प्रधानमन्त्री ओलीमाथि खनिए भीम रावल, पार्टीको विधान उल्लंघन गरेको आरोप (भिडिओसहित)



काठमाडौं, १६ चैत्र । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नै पार्टीको विधान उल्लंघन गरेको गम्भीर आरोप लगाएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पार्टीको विधान मिचेर गरिने निर्णय अवैद्य हुने पनि उनले जनाए । केन्द्रीय समितिलाई विधान संशोधन गर्ने अधिकार नभएको पनि उनको जिकिर छ ।

चैत्र १३ गते बालुवाटारमा बसेको संसदीय दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, नेताहरु योगेश भट्टराई, घनश्याम भुषाल र गोकर्ण विष्टहरुले पार्टीलाई एकताबद्ध बनाउनको लागि संयम भएर अघि बढ्न अध्यक्ष ओलीलाई भनेको पनि नेता रावलले सुनाए । प्रधानमन्त्री ओलीले पार्टीभित्रको अन्तरविरोध हल गर्न सबैभन्दा बढि जिम्मेवारी निर्वाह गर्नुपर्नेथियो भन्ने पनि उनको आग्रह छ । उनले आफूहरु पार्टी फुटको विरुद्धमा उभिएको पनि जिकिर गरे । उनले पार्टीको विधानले एमाले पार्टीलाई प्राइभेट कम्पनी बनाउन नदिने पनि स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्