Logo

पौवादुङमा गाउँपालिकाको आफ्नै ब्राण्डको मह बजारमा



भोजपुर, १६ चैत्र । पौवादुङमा गाउँपालिकाले मौरीपालनमा प्रोत्साहन गर्ने उद्देश्यले कृषकलाई सातदिने व्यावसायिक तालिम दिएको छ । गाउँपालिकाले कृषकलाई मौरीसहितको ७७ घार वितरण गर्नुपूर्व उनीहरुलाई व्यावसायिक तालिम दिएको हो ।

मौरीपालनमा लागेका कृषकलाई स्वरोजगारसँगै आर्थिकरूपमा आत्मानिर्भर बनाउने उद्देश्यले काम भइरहेको गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दिए। उनले भने, “हाम्रो क्षेत्रमा मौरीको राम्रो सम्भावना छ, धेरै कृषकले पराम्परागतरूपमा भए पनि मौरीपालन गर्दै आएका छन् । उनीहरुलाई थप प्रोत्साहन गर्न गाउँपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । मौरीपालनका लागि आवश्यक चरन क्षेत्र विस्तार गर्दै गाउँपालिकामा नै प्रशोधन केन्द्र स्थापना गरेर गाउँपालिको ट्याग लगाएर बजारमा मह पठाउने लक्ष्य छ ।”

यस वर्ष मौरीपालनका लागि छनोटमा परेका गाउँपालिकाभित्रका २८ कृषकलाई आधुनिक घारमा आधुनिक तरिकाले मौरीपालनका विषयमा जानकारी दिएको गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले जानकारी दिए । साथै उनीहरुलाई बजार व्यवस्थापन, मह उत्पादन तथा मौरीका घार वृद्धिका बारेमा समेत जानकारी दिइएको प्रमुख राईको भनाइ छ ।

गाउँपालिकाले यसअघिका वर्षहरुमा पनि कृषकलाई मौरीपालनमा लाग्नका लागि घार तथा गोलासहितको मौरी वितरण गर्दै आएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७५र७६ मा २५० वटा घार र आव २०७६÷७७ मा ४७ वटा घारसहितको मौरी वितरण गरेको हो । गाउँपालिका उपाध्यक्ष सम्झना राईले कृषकलाई आवश्यकताका आधारमा गाउँपालिकाले सहयोग गर्दै आएको धारणा राखे । साथै उहाँले कृषकलाई सिर्जनशील भएर व्यवसायमा लाग्नसमेत आग्रह गरे ।

उपाध्यक्ष राईले भने, “तपाईँहरुलाई व्यावसायिक बनाउनका लागि गाउँपालिकाले आवश्यक सहयोग गरिरहेको छ । व्यावसायिकरूपमा मौरीपालनमा लाग्नुभएका तपाईँहरुको आवश्यकताका आधारमा गाउँपालिकाले सहयोग गर्नेछ, गाउँपालिकालाई मौरीपालनको पकेट क्षेत्रका रूपमा विस्तार गर्ने योजनाका साथ हामीले काम गरिरहेका छौँ, विशेष गरेर गाउँपालिकाको ४, ५ र ६ वडामा यसको सम्भावना रामो छ ।” रासस



प्रतिक्रिया दिनुहोस्