Logo

त्रिदेशीय कप फुटबलको उपाधि नेपाललाई, प्रधानमन्त्री ओली रङ्गशालामा (फोटोफिचर)



काठमाडौँ, १६ चैत । त्रिदेशीय कप फुटबलको उपाधि नेपालले जितेको छ । फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको हो । नेपालले दुवै गोल पहिलो हाफमा गरेको हो । नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गरेका हुन् । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त ग¥यो भने उपविजेता बङ्गलादेशले तीन हजार डलर प्राप्त ग¥यो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा नेपाली टोलीले शुरुआतदेखि नै बङ्गलादेश विरुद्ध आक्रामक खेलेको थियो । खेलको १८औँ मिनेटमा सन्जोग राईले नेपालका लागि पहिलो गोल गरेका हुन् । उनी आफ्नो दोस्रो अन्तर्राष्ट्रिय खेलमा नै गोल गर्न सफल भएका हुन् । यस्तै खेलको ४२औँ मिनेटमा विशाल राईले नेपालका लागि दोस्रो गोल गरेका हुन् ।

पहिलो हाफमा नेपाली खेलाडीहरुले गोल गर्ने उत्कृष्ट प्रयास गरेका थिए । खेलको १३औँ मिनेटमा नेपाल गोल गर्नबाट चुक्यो । खेलको १६औँ मिनेटमा बङ्गलादेशी खेलाडीले रोहित चन्दलाई मैदानमा लडाएपछि नेपालले फ्रि किकको मौका पाएको थियो । अनन्त तामाङले हानेको बल गोलपोष्ट बाहिर पुग्यो ।

यस्तै खेलको २५औँ मिनेटमा नेपालले फ्रि किकको अवसर पाएको थियो । खेलको २८औँ मिनेटमा बङ्गलादेशले गोल गर्ने मौका पाएको थियो । उक्त प्रयास नेपाली टोलीका गोलकिपर किरणकुमार लिम्बुले विफल पारे । खेलको ३०औँ मिनेटमा अन्जन विष्टले गोल गर्ने उत्कृष्ट मौका गुमाए । यस्तै ३१औँ मिनेटमा विशाल राई गोल गर्नबाट चुकेका थिए ।

नेपालले मध्यान्तरअघिको खेलजस्तो आक्रामक खेल मध्यान्तरपछि खेल्न सकेन । फलस्वरुप बङ्गलादेशले खेलको ८३औँ मिनेटमा एक गोल गर्न सफल भयो । बङ्गलादेशका लागि रहमानले हेडमार्फत सान्त्वना गोल गरेका थिए । नेपालले खेलको अन्तिमतिर गोल गर्ने प्रयास गरेको थियो । तर, तेस्रो गोल गर्न भने नेपाल असफल रह्यो ।

अन्ततः नेपाल बङ्गलादेशविरुद्धको खेलमा २–१ गेलअन्तरले विजयी भयो । उक्त खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली नै दशरथ रंगशाला पुगेका थिए । नेपाली खेलाडीहरुको हौशला बढाउनको लागि प्रधानमन्त्री रंगशाला गएका हुन् । पुरस्कारसमेत प्रधानमन्त्रीको हातबाट वितरण गरिएको थियो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्