Logo

उपत्यकामा मेलम्चीको पानीको हिस्सा ९० प्रतिशतसम्म पुग्ने



काठमाडौं, चैत १७ । काठमाडौं उपत्यकावासीले उपभोग गर्दै आएको पानीमध्ये मेलम्चीको पानीको हिस्सा ९० प्रतिशतसम्म पुग्ने भएको छ । शहरी जनसंख्या बढेसँगै उपत्यकामा खानेपानीको माग पनि चुलिएकोमा मेलम्चीको पानी आएपछि आपूर्ति सहज हुने देखिएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले हाल सुन्दरीजल, डीप ट्युबवेल, विष्णुमती, शिवपुरी जस्ता आन्तरिक स्रोतबाट उपत्यकामा पानी आपूर्ति गर्दै आएको छ । कम्पनीको वितरण लाइनमा केही समयपछि नै मेलम्चीको पानी पूर्ण क्षमतामा अर्थात् दैनिक १७ करोड लिटर आपूर्ति हुनेछ । आइतवार काठमाडौंको महाँकालचौरबाट दैनिक ४ करोड लिटर पानी वितरण शुरू गरिएको र केही समयमै पूर्ण क्षमतामा पानी आउन थालेपछि पानीको अर्को स्रोत डीप ट्युबवेल बन्द गरिने बताइएको छ ।

केयूकेएलले अहिले पनि डीप ट्युबवेलबाट पानीको आपूर्ति गरिरहेको छ । कम्पनीले मेलम्चीको पानी आइसकेपछि डिप ट्युबवेल विस्तारै बन्द गर्ने तयारी गरेको एक अधिकारीले जानकारी दिए । हाल उपत्यकाका विभिन्न स्थानमा गरी करीब ५० डीप ट्युबवेल सञ्चालनमा छन् । यी ट्युबवेलमा काम गर्ने कर्मचारीलाई अबको वितरण संरचना तथा अन्यत्र पनि खटाउने तयारी भएको ती अधिकारीले बताए । अहिले नै डीप ट्युबवेलहरू बन्द भइनसकेकाले त्यसको पानी पनि आइरहेको छ ।

बूढानीलकण्ठ, बाँसबारी क्षेत्रमा विष्णुुमतीको मुहानबाट पानी आउँछ । फर्पिङ, गोदावरी, चापागाउँमा पनि आन्तरिक मुहानबाटै पानीको भरथेग हुँदै आएको छ । यस्तै भक्तपुरमा बोडेको पानी पनि छ । बोडेको पानी जडीबुटी हुँदै मीनभवनको पानी ट्यांकीमा आउँछ । अहिले मेलम्चीको पानी आएपछि बोडेको सिस्टमलाई सोही स्थानबाटै बन्द गरेर भक्तपुर क्षेत्रमै वितरण गरिनेछ ।

आन्तरिक मुहान, सुन्दरी जल, डीप ट्युबवेलबाट पानीको भरथेग भइरहेकोमा मेलम्चीको पानी थपिएको हो । अहिले उपत्यकाका भक्तपुर, आरुबारी, बालाजु, बाँसबारी, कीर्तिपुरलगायत १४ स्थानमा करोडौं लिटर क्षमताका पानी ट्यांकी छन् । त्यहीँबाट मेलम्चीको पानी पनि वितरण हुने गरेको छ । हाल पुराना पानी पोखरीमा मेलम्चीको पानी भरेर पुरानै पाइपलाइनमार्फत पानी दिइने भएको छ । यस्तै आयोजना कार्यान्वयन निर्देशनालयबाट बिच्छ्याइएका नयाँ पाइपलाइन परीक्षण गरेर पानी थप्दै जाने योजना रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्