Logo

विराजको बिदाइ



काठमाडौं, चैत १७ । हस्ती खेलाडीहरूले अपेक्षाअनुरूप बिदाइ नपाएका धेरै उदाहरण छन् । ती उदाहरण सम्झने हो भने नेपालका ‘लिजेन्ड’ फुटबलर विराज महर्जनलाई भाग्यमानी मान्नुपर्छ ।

विराजले सोमबार नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने फुटबलर र घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता जितेर अन्तर्राष्ट्रिय फुटबललाई ‘बाइबाई’ भने । उनको बिदाइ खेलमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति रह्यो ।

३० वर्षीय विराजको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई २–१ ले हराएर त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आफ्नो अन्तिम खेल खेलेका विराजलाई प्रधानमन्त्री ओलीले च्याम्पियन ट्रफी हस्तान्तरण गरे । साधारणतया कप्तान र प्रशिक्षकले ट्रफी ग्रहण गर्ने भए पनि विराजलाई सम्मानस्वरूप ट्रफी उचाल्ने मौका दिइएको हो ।

फाइनलको ८९औँ मिनेटमा त्रिदेव गुरुङको स्थानमा विराज मैदानमा प्रवेश गरेका थिए। विराजले आफ्नो अन्तिम खेलमा सात मिनेट मैदानमा बिताए। खेलमा छ मिनेट अतिरिक्त थपिएको थियो ।

विराजले सन्न्यासपछि आफूले नेपाली टिमलाई दिन पाएको सेवा र आफू फुटबलर बन्नुमा भाग्यमानी छु भन्दै थपे, “मेरो लागि सबभन्दा ठूलो कुरा नेपालका लागि खेल्नु नै हो । फुटबल नरोजेको भए मलाई विराज महर्जन भनेर कसैले चिन्दैनथे । फुटबललाई म भगवान् मान्छु ।” विराजले नेपालका लागि ७३ खेल खेलेका छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्