Logo

माधव नेपालको धैर्यताको बाँध टुट्नसक्ने, एमाले फुटको नजिक



काठमाडौं, १७ चैत्र । नेकपा एमालेका नेता माधवकुमार नेपालमाथि अध्यक्ष केपी शर्मा ओलीको निर्णयले ६ महिना निलम्बन भएको छ । यो निर्णय ओलीले केन्द्रीय कमिटी बैठक डाकेर स्पष्टिकरण मागेको केही दिनपछिको हो ।

२८ फागुनमा एमाले ब्युँतिएपछि ओलीले आफू पक्षीय केन्द्रीय कमिटी बैठक डाकेर अध्यक्ष र महासचिवबाहेक पदाधिकारी र स्थायी कमिटी खारेजीको निर्णय गरेका थिए । त्यसको विरोधमा माधव नेपाल पक्षधर कडा रुपमा उत्रिएका थिए । पार्टी अनुशासन उल्लंघन गरेको भन्दै नेपाल र उनीपक्षधर प्रभावशाली नेता भीम रावलमाथि कारबाही भएको छ ।

आफूमाथि कारबाही भएपनि माधव नेपालले तत्काल एमाले छाड्ने संकेत गरेका छैनन् । उनले एमाले फुटाउन सक्ने अवस्था कमजोर छ । केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत सख्या नपुगी पार्टी विभाजन गर्न पाइँदैन ।

नेपालले ओलीको कदमलाई तानाशाही भन्दै त्यसविरुद्ध जुध्न आव्हान गरेका छन् । हिजो उनले क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणमा लाग्न आफू पक्षीय नेताहरुलाई आव्हान समेत गरेका छन् । तर, पार्टी फुटाउने घोषणा गरिसकेका छैनन् ।

आफू पक्षीय नेता र आफैमाथि कारबाही गरेपनि नेपालको धैर्यताको बाँध टुटेको छैन । यसलाई कतिपयले उनको कमजोरी भनेका छन् । नेपाल धैर्यवान नेता मानिन्छन् । उनले संयमता नगुमाउन र नआत्तिन आफू पक्षधर नेताहरुलाई आग्रह गरेका छन् । एमालेभित्रै बसेर संघर्ष गर्नेमा नेपाल अझै दृढ रहेको बुझिएको छ । तर, कतिपयले उनको धैर्यताको बाँध टुट्ने र एमाले विभाजित हुने आँकलन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्