Logo

कोकाकोलालाई १२ अर्बको मुद्दा ?



काठमाडौं, १७ चैत । एनसेलले जस्तै कोकाकोला कम्पनीले पनि अरबौं कर छली गरेको खुलेको छ । राजश्व अनुसन्धान विभागले गरेको छानबिनमा सो कम्पनीले करिब १२ अर्ब रुपैयाँ कर छली गरेको पुष्टि भएको छ । मुद्दाको अनुसन्धान अन्तिम चरणमा पुगेपछि रोक्नका लागि विचौलियाहरू बालुवाटारमा सक्रिय भएका छन् ।कोकाकोलाको स्थानीय बोटलिङ कम्पनी, बोटलर्स नेपाल लिमिटेडको ७६ प्रतिशत सेयर विदेशमा नै किनबेच गरी कर छली भएको हो । विभागले सो कम्पनीका उच्च पदस्थसँग बयान समेत लिइसकेको छ । नेपाल राष्ट्र बैंकले सो कम्पनीलाई लाभांस लैजान समेत रोक लगाइसकेको छ ।

बोटलर्स नेपालको धेरै स्वामित्व रहेको दुबईस्थित साउथ वेस्ट होल्डिङ्स लिमिटेड (साब्को)ले कोकाकोलाको मुल कम्पनीलाई शेयर बेचेको पुष्टि भइसकेको छ । त्यसरी बिक्रि गर्दाको आयकर लगायतका कुनै कर तिरिएको छैन । त्यसबारे नेपालमा उद्योग विभाग लगायत कुनै निकायलाई जानकारी समेत दिइएको छैन ।

कोकाकोलाजस्तै अर्को पेप्सीको नेपालस्थित वरुण वेभरेज नेपालले ६४ करोड रूपैयाँभन्दा बढीको मूल्य अभिवृद्धि कर (भ्याट) छली प्रकरणका विभागले मुद्दा दायर गरिसकेको छ । वरुण वेभरेज (नेपाल) सञ्चालकहरू अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविनकुमार अग्रवाल, विनोद सिंह भनिने विनोदकुमार सिंह तथा अशोक कुमारविरुद्ध मुद्दा दायर भइसकेको छ । सो कर छली प्रकरणमा वरुण वेभरेजका प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रविन अग्रवाललाई उच्च अदालत पाटनले थुनामा पठाउने आदेश दिइसकेको छ ।

बोटलर्स नेपालका व्यवस्थापकहरूले पनि स्वामित्व किनबेच भएको स्वीकार गरिसकेका छन् । कारोबारबाट माउ कम्पनी कोकाकोला एटलान्टाले अन्तर कम्पनी कारोबारका माध्यमबाट नेपालबाट लाने गरेको रोयल्टी र अन्य बिक्री कारोबारबाट प्राप्त हुनुपर्ने राजस्व गरी करिब १२ अर्ब कर छली गरेको निष्कर्षमा विभाग पुगेको छ ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्